- एकराज प्रधान
लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ भदौ ७ बाट हलहरुमा रिलिज भइसकेको छ । रिलिज भएसँगै अभिनेत्री मलिका महतले यो फिल्मबाट खूब तारिफ र माया पाइरहेकी छन् । सतीदेवीको रुपमा जुन भूमिका उनले निर्वाह गरेकी छन्, त्यो साँच्चिकै प्रशंसनीय छ ।
विषयवस्तु
विषयवस्तु फिल्ममा खास नयाँ होइन । छोरा मोह त्याग्न फिल्मले प्रेरित गर्छ । छोरीछोरी जन्माउने आमाको पीडालाई छोरीकै नजरबाट हेरिएको कथानकमा बनेको फिल्म हो सतीदेवी । चार वटी छोरी जन्माइसकेकी सतीदेवीकी आमा छोरा जन्माउन आशमा फेरि पनि गर्भवती छिन् । छोरा नै चाहिन्छ भन्ने श्रीमान्को जिद्दीबाट उनी आजित छिन् । परिवार पूरै तनावग्रस्त छ ।
घरको मूल मान्छे नै परिवारप्रति जिम्मेवार नबनिदिँदा जीवन कति कस्टकर बन्छ भन्ने कथाले साँच्चै मन छुन्छ । भत्किएको घर र कमजोर भएकाहरुमाथि गिद्धे नजर लाउने समाजका केही खराब पात्रहरुले कसरी मौका छोप्छन् भन्ने कुरालाई पनि चलचित्रमा देख्न सकिन्छ ।
खासगरी छोरालाई अधिक महत्व दिनु र छोरीलाई अवहेलना गर्ने सामाजिक सोचमाथि फिल्मको विषय केन्द्रित छ ।
परिवेश
फिल्मको परिवेशमा पहाडी विकटता र कमजोर आर्थिक अवस्था भएको परिवारलाई देख्न सकिन्छ । समय बदलिए पनि, गाउँहरु फैलिएर सहर भइसके पनि नारी र पुरुषको विभेद उस्तै छ भन्ने परिवेशमा कथा उभिएको छ । सामाजिक चेतलाई झक्झक्याउँदै फिल्मले भन्छ, छोरीचेलीले अझै पनि यही विभेदका कारण दु:ख पाइरहेका छन् ।
पात्र र चरित्र
सतीदेवीको रुपमा छिन् मलिका महत । गाउँले सोझी अनि सरल केटीको भूमिकामा उनी देखिएकी छन् । उनलाई यो रोल निक्कै सुहाएको छ । डायलग, एक्सप्रेसन, इमोसनल सिनहरुमा उनी र्फक्ट देखिन्छिन् । फिल्ममा चार बहिनीमध्ये उनी जेठी हुन् । परिवारका सबैलाई उनी उत्तिकै माया गर्छिन्, जिम्मेवार छिन् । फिल्मभरि उनको स्वभावमा भने खासै परिवर्तन आउँदैन । एउटा निरीह भावुक पात्रको रुपमा उनलाई उभ्याइएको छ । सतीदेवीलाई स्ट्रङ पनि बनाउन सकिन्थ्यो होला, तर निर्देशकले त्यस्तो बनाएर देवत्वकरण गर्न चाहेका छैनन् ।
कुले अर्थात् माइलाको भूमिकामा छन् कुलदीप अधिकारी । छोरा जन्माउनै पर्छ भन्ने जिद्दीमा उनी देखिन्छन् । फिल्मभरि उनले अनेक समस्या सिर्जना गर्छन् । एउटा गैरजिम्मेवार बाउ, जुवाडे अनि जँड्याहा क्यारेक्टरमा उनले निक्कै राम्रो अभिनय गरेका छन् । उनले परिवारलाई दिएको दु:ख देखेर फिल्म हेर्नेहरुलाई भने खूब रिस उठ्न सक्छ ।
माइली आमा । श्रीमान्ले दिएको दु:खमा लाचार भएकी सतीदेवीकी आमाको रुपमा छिन्, सिर्जना अधिकारी । उनको अभिनयले धेरैलाई रुवाउन सक्ने क्षमता राख्छ । उनको दु:खमा हामीलाई असाध्य पीडा हुन्छ । आमाको भूमिकालाई उनले साँच्चै नै न्याय गरेकी छन् ।
कौडे काजीको रुपमा देखिएका छन्, रमेश बुढाथोकी । निर्देशकले उनलाई बडी ल्याङ्ग्वेज र थेगो पनि दिएका छन् । मुख एकातिर बङ्ग्याउँदै ‘छोरीचेलीको ऐंचोपैँचो’ भन्ने डायलग रिपिट गरिरहन्छन् । नेगेटिभ रोलमा उनको पनि अभिनय ठिकै मान्न सकिन्छ ।
बाल कलाकारहरु देवी अर्थात् हर्षिका ओली सानै भए पनि निक्कै आँटिली छे । ऊ आफूलाई घरको छोरो ठान्छे । मन्जिला बानियाँ अर्थात् फिल्ममा गोमा, ऊ चाहिँ साह्रै धेरै डराउँछे । उसको डराउने स्वभावले दर्शकलाई अलिअलि हसाउँछ पनि ।
फिल्ममा सतीदेवीको प्रेमीका रुपमा भुवन अर्थात् सन्दीपबाबु लोहनी देखिएका छन् । उनको अभिनयमा भने बडी ल्याङ्ग्वेज, डायलगमा के-के नपुगे जस्तो फिल भयो मलाई चाहिँ । भुवन सतीदेवीलाई निश्चल प्रेम गर्छन् तर, भन्न सकिरहेका छैनन् ।
फिल्ममा भोलाराज सापकोटालाई पनि देख्न सकिन्छ । साथी गंगा प्लेड बाइ सुजिता शिवाकोटीको पनि अभिनय राम्राे भन्न मिल्छ । उनलाई चाहिँ थोरै नेगेटिभ क्यारेक्टरमा देख्न सकिन्छ । नारीहरु सबै सतीदेवी जस्तो पनि हुँदैनन् भन्ने पाटोलाई निर्देशकले उनी मार्फत् देखाउन खोजेका छन् । केटाहरुलाई जालमा पारेर घुमाउने क्यारेक्टरमा उनी छिन् ।
यसबाहेक पनि फिल्ममा थुप्रै पात्रहरु छन् । नयाँ केही कलाकार बाहेक सबैको अभिनय चरित्र अनुसार राम्रो रहेको छ ।
सकारात्मक पक्ष
कलाकारहरुको अब्बल अभिनय फिल्मको बलियो पाटो हो । यो सब्जेक्टमा थुप्रै फिल्महरु बने, त्यसैले कथावस्तु नयाँ होइन । तर कलाकारहरुको प्रस्तुतिले फिल्मलाई दरिलो गरी उभ्याइदिएको छ । उनीहरुको अभिनयले भावुक बनाउँछ, दर्शकलाई निराश बनाउँदैन । विशेष गरी कुलबहादर, मलिका अनि बालकलाकार हर्षिकाले ।
फिल्ममा सिंक साउन्डलाई पनि निक्कै ध्यान दिइएको छ । छोरीलाई पनि सम्मानजनक व्यवहार गरौँ, उनीहरु बोझ होइनन् भन्ने सन्देश पनि फिल्मको सकारात्मक पाटो हो ।
कमेन्ट
फिल्ममा इमोसनल सिनहरु अलिक बढी भयो । पात्रहरु यति रुन्छन् कि फिल्मको अधिकांश समय रोएरै बित्छ । पटकथामा अझै कस्न सक्ने ठाउँहरु थुप्रै छन् । पुरानो कथा भएकाले प्रिडिक्टेबल सिनहरु धेरै आउँछन् । अब के हुन्छ होला ? भनेर दर्शकलाई ऐंठन पार्ने सिनहरु निक्कै कम भेटिन्छन् । केही टर्निङ पोइन्ट क्रिएट गर्दै दर्शकलाई बाँधिराख्न निर्देशक भने चतुर देखिएका छन् ।
फिल्म सकिँदा जुत्ताको माला लाइसकेपछिको कथा थप इन्ट्रेस्टिङ बनाउन किन मिहेनत गरिएन भन्ने प्रश्न उब्जिन्छ । सतीदेवीको कथालाई संक्षेपमा सीमित गर्दा केही खल्लो फिल हुन्छ ।
छायाँकनको पाटोबाट हेर्दा फिल्ममा खोला बगरको सिन धेरै भयो कि भन्ने फिल हुन्छ । एउटा गीत त पूरै बगरमा सिद्धिन्छ । त्यसपछि माइलाबाले त्यहीँ पिटाइ खान्छ, गंगाले त्यहीँ बोइफन्डलाई भेट्छे, भुवन पनि बगरतिरै मात्र गफिन्छ । यी सिनहरुमा विविधता दिन सकेको भए अझै मजा आउनेथ्यो ।
कलर भने फ्ल्यासब्याक र ब्याक टु सिनमा डिफरेन्ट देखिन्छ, यसले दर्शकलाई बुझ्न सजिलो भएको छ । स्क्रिन प्लेको कुरा गर्नुपर्दा अलमलिने ठाउँ नै छैन ।
फिल्मको इन्डिङ भने चित्त बुझ्दो लागेन । केही पात्रलाई अन्याय गर्दै फिल्म सकिएको आभाष भयो । फिल्मले उठाएको विषयवस्तुको ट्रिटमेन्ट नगरी फिल्म सकिएजस्तो लाग्यो ।
फिल्म निक्कै राम्रो पनि होइन, एकदमै खराब पनि छैन । एभरेज फिल्म हो, त्यसैले सतीदेवीलाई रेटिङ गर्नुपर्दा फाइभमा २.५ फाइभ स्टार दिन्छु । यो चाहिँ खासगरी कलाकारहरुको मेहनत, सामाजिक विषयवस्तु उठान र प्रताप दास, दिपा लाामा, ममता गुरुङ र सविन सुवेदीको आवाजमा मीठो गीतका लागि ।
फिल्ममा देखाइएका विभेद भोग्नेहरुलाई फिल्मले पक्का रुवाउँछ । अझ ती आमाहरु, जो छोरी जन्माएकै कारण हिंसामा परे । घर, परिवार र समाजमा अपमानित बने । उहाँहरुले हेर्नु भयो भने आँशु थाम्नै सक्नुहुन्न ।
फिल्मले विभेद नभोगेकाहरुलाई पनि भावुक बनाउँछ । तर, निर्माण टिमलाई जाँदाजाँदै एउटा कुरा भन्न चाहन्छु, मान्छे रुन मात्रै हल जाँदैनन् । सँगसँगै रमाइलो कुरा पनि अझै जोड्न सकेको भए अझै मज्जा आउने थियो ।