एकराज प्रधान
बिर्तामोड । बिर्तामोडमा सञ्चालित ‘किताब मेला’मा युवाहरुको आकर्षण बढ्दो छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित वीरता रिडर्सद्वारा आयोजित किताब मेला असोज ८ गतेदेखि निरन्तर सञ्चालित छ ।
‘रिडिङ कल्चर घटेको होइन रहेछ, खासमा बढाउन नसकिएको मात्र रहेछ’, आयोजक संस्थाका संयोजक तीर्थ सिग्देलले भने, ‘यस किसिमको गतिविधिलाई बढाउन सके पाठक अझै थपिनुहुने रहेछ ।’ मेलामा विशेष गरी कलेजका विद्यार्थी र कर्मचारीहरुको आकर्षण रहेको उनले सुनाए । उनका अनुसार युवामा अंग्रेजी लेखकका ‘सेल्फहेल्प’ पुस्तक र भागवत गीतामा आकर्षण रहेको पाइयो ।
‘आफूलाई सफल कसरी बनाउने भन्ने बारेमा लेखिएको अंग्रेजी किताब र नेपालीमा अनुवादित किताबको खोजी बढी भइरहेको छ’, वीरता रिडर्सका सहसंयोजक केशव मैनाली भन्छन्, ‘अंग्रेजी साहित्य, रिसर्च बेसमा आधारित किताब, जीवनी, वित्तीय व्यवस्थापन सम्बन्धी किताब पाठकहरुको रोजाइमा परिरहेको छ ।’
नेपालका मात्र नभई भारत सिलिगुडीबाट समेत मेलामा सहभागिता बढिरहेको आयोजकले जनाएको छ । भारतका लेखक डा. कृष्णराज घतानीले सहभागिता जनाउँदै किताब मेलाको प्रशंसा गरेका छन् । बाल्मीकि एजुकेशन बिर्तामोडमा कार्यरत रेखा सापकोटा सपरिवार मेलामा उपस्थित भएकी थिइन् । कविता लेखनमा रुची राख्ने उनी बालबालिकालाई पनि कोर्सभन्दा बाहिरका पुस्तकबारे बुझाउन जरुरी रहेको धारणा राख्छिन् । मेलामा प्रसिद्ध कवि नवराज पराजुली, ‘छापामारको डायरी’की लेखिका तारा राई, गोपालकुमार बस्नेत, लीला अनमोल लगायत सर्जकहरुको उपस्थिति रहँदै आएको छ ।
मेलामा झापाली स्रष्टाहरुको पुस्तकको स्टल छुट्टै राखिएको छ । ‘झापाली स्रष्टाको पुस्तकमा चाहिँ कविता र गजल संग्रहको खोजी हुने गरेको छ’, झापाली साहित्य समाजका अध्यक्ष हरि बरालले भने, ‘झापाली लेखक साहित्यकारहरुको पनि मेलामा राम्रै सहभागिता रहेको छ ।’
जीवनमा सकारात्मक परिवर्तन चाहने र लेखन यात्रालाई गतिशील बनाउन चाहनेहरुको विशेष उपस्थिति मेलामा रहँदै आएको व्यवस्थापकीय पाटो सम्हाल्दै आएको इसा बुक्स एन्ड स्टेशनरीका सञ्चालक समेत रहेका केशव मैनालीले जानकारी दिए । वर्षाका कारण मेलामा केही असजिलो भए पनि पानी रोकिनासाथ पाठकहरुको भीड बढेको उनले बताए । मेलामा शिक्षक तथा सरकारी कर्मचारीहरुको भने एकदमै न्यून उपस्थिति रहेको आयोजकले जनाएको छ ।
घर तथा संघसंस्थामा मिनी लाइब्रेरी स्थापना गरौं भन्ने अभियान सञ्चालन गर्ने र दशैंको कोसेली किताब भन्ने नारासहित सञ्चालित मेला असोज २३ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिभर साहित्यसम्बन्धी विभिन्न अन्तरसंवादका कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ ।