Home समाचार मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । भारत सरकारले बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई यसवर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गर्ने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यसको औपचारिक घोषणा गरे । असोज २२ गते आयोजना हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने भएको छ ।

मिथुनले सन् १९७६ मा ‘मृगया’बाट फिल्मी करिअर थालेका थिए । पहिलो फिल्मबाटै उनले राष्ट्रिय पुरस्कार जितेका थिए । उनले सन् १९८२ को फिल्म ‘डिस्को डान्सर’बाट प्रसिद्धी प्राप्त गरे ।

चक्रवर्तीलाई पुरस्कार प्रदान गर्नेबारे जानकारी दिँदै केन्द्रीय मन्त्री वैष्णवले सामाजिक संजाल एक्समा लेखे, ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्तालाई प्रेरित गर्छ । दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यसवर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’

दादासाहेब फाल्के पाएकोमा मिथुनलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘भारतीय सिनेमामा अनुपम योगदानका लागि मिथुन चक्रवर्तीलाई दादासाहेब अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको छ ।’

सम्मान पाएपछि मिथुनले भनेका छन्, ‘साँचो भन्नुपर्दा मसँग कुनै भाषा छैन । न म हाँस्न सक्छु, न म खुशीले रुन सक्छु । यो यति ठूलो कुरा हो । म कहाँबाट आएको केटाले यति ठूलो सम्मान पाएको कल्पना पनि गर्न सक्दिन । म यो पुरस्कार मेरो परिवार र विश्वभरका फ्यानलाई समर्पित गर्दछु ।’

सन् २०२३ मा दिग्गज अभिनेत्री वहिदा रहमानलाई दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिएको थियो । यो अवार्ड पाउने उनी आठौं महिला हुन् । यसअघि देविका रानी, रुबी मेयर्स, कानन देवी, दुर्गा खोटे, लता मंगेशकर, आशा भोस्ले र आशा पारेखले यो अवार्ड पाइसकेका छन् ।

Source: OnlineKhabar

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link