झापा / अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को मुखिया लुक्स चलचित्र ‘माइतीघर’को सेटबाट बाहिरिएकाे छ ।
सार्वजनिक तस्विरमा घिमिरे खाटमा बसेर मोबाइल चलाइरहेको देखिन्छ । उनको हाउभाउ र पहिरनले गर्दा यो लुक्सलाई गाउँको मुखियाको हुनसक्ने अड्कल लगाउन सकिन्छ । यद्यपि निर्माण पक्षले भने यस विषयमा केही खुलाएको छैन ।
मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्म तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट पस्किने जनाइएको छ । बहुप्रतिक्षित फिल्म ‘माइतीघर’ लाई दशैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।
हाल म्याग्दीको रमणीय ताकम गाउँमा फिल्मको छायांकन धमाधम भइरहेको छ । निर्माण टिमका अनुसार, ताकम गाउँमा करिब २० दिन र त्यसपछि दरबाङको तातोपानी क्षेत्रमा थप २० दिन छायांकन गर्ने सेड्युल रहेको छ ।
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्ममा युवराज लामा, केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका अनुभवी कलाकारहरुको अभिनय देख्न सकिनेछ । फिल्ममा सुशन प्रजापतिको छायांकन रहनेछ ।