काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीय थलो बन्दीपुरमा फिल्म खिचियो ।
त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले १५ करोड नेरुसम्म खर्च गरेको अनुमान निर्माण स्रोतको छ ।
यो फिल्मको नेपाल छायांकन प्रवेश साहनीको बलिउड कम्पनी आइटपले हेरेको हो । छायांकनकै लागि ३०० भन्दा धेरै प्राविधिक भारतबाट आएका थिए । नेपाली र स्थानीय कलाकारले समेत अभिनय गरेकाले स्थानीय प्रर्यटन प्रवर्धन र रोजगारीमा फाइदा मिलेको बताइएको छ ।
विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।
शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।
‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् ।