काठमाडौं । चलचित्र ‘पिताम्बर’ पछि निर्देशक कृषा चौलागाईं को चर्चा चुलिएको छ । एक्सन जनराको उक्त मल्टिस्टारर चलचित्रलाई सफलतापूर्वक निर्देशन गरेपछि उनलाई अन्य प्रोजेक्टका लागि पनि निरन्तर अफर आइरहेको बताइन्छ ।
यसैबीच, हालै जापान भ्रमणमा रहेकी निर्देशक चौलागाईंले नयाँ चलचित्र निर्देशनको सम्झौता गरेकी छन् । यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको यो अनटाइटल प्रोजेक्टमा नेपाल, भारत र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्ने जनाइएको छ । जापानको एक टोलीको समेत सहकार्य रहने यो फिल्मलाई यूएनए प्रोडक्सन (यूएनए इन्टरटेन्मेन्टको भगिनी संस्था) ले निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईँ र निर्देशक कृषा चौलागाईंबीच कागजी सम्झौता भइसकेको छ । चलचित्रको छायाङ्कन आगामी भदौबाट सुरु हुनेछ र यो चलचित्र नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ । निर्माण पक्षले चलचित्रको नाम र कलाकारहरूको बारेमा छिट्टै जानकारी दिने बताएको छ।
यस चलचित्रका लागि निर्देशक कृषा चौलागाईंले महँगो पारिश्रमिक लिएकी छिन्, यद्यपि रकम भने खुलाइएको छैन । कृषाले ‘पिताम्बर’ पछि नयाँ प्रोजेक्टमा जोडिएर दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छन् । हाल यस चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ ।