काठमाडौं । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सको निर्माण गर्ने सिनेमा ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृङ्गार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अभिनेत्री खड्काले सिनेमाको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन । उनले भनिन्,‘मेरा अघिल्ला सिनेमा भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’
आगामी दशैं लगत्तै छायांकन गरिने ‘लालीबजार’ षट्कोण आर्ट्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौं सिनेमा हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका सिनेमामा अन्य व्यानरसँग सहकार्य गरेको छ ।