बिर्तामोड । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश सोही नामको कथावस्तुमा फिल्म आधारित छ । सार्वजनिक गरिएको टिजरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
पति-पत्नीको मनमुटाव टिजरमा देख्न सकिन्छ । प्रकाश सपुत र सुहाना थापा यसमा जोडीको भूमिकामा छन् । श्रीमतीले पँधेरोबाट पानी लिएर ढिलो आएपछि श्रीमानले कुट्छन् ।
छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र उनकी श्रीमतीले छुट्याउन जाँदा ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो भन्ने खालका कुरा प्रकाशले गर्छन् ।
दशकौंअघिको नेपाली ग्रामीण परिवेशको सेटिङमा फिल्म छायांकन गरिएको हो । फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको पनि अभिनय छ ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुशील देवकोटाले मुल कृतिबाट पटकथामा रुपान्तरण गरेका हुन् । फिल्ममा सुशील पोखरेलको लगानी छ । ‘परालको आगो’ ११ बैशाखदेखि प्रदर्शन तयारीमा छ ।


