बिर्तामोड । सुर्खेत वीरेन्द्रनगर- मा बस्दै आएकी १६ वर्षीया इनिशा विक गत शनिबार रहस्यमय मृत्यु भएको छ ।
बिहान ६ बजे ट्युसन पढ्न जान्छु भनेर घरबाट निस्किएकी उनी घर फर्किइनन् । उनकी आमा तिला विकलाई अचानक फोन आयो – ‘इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भनेर । त्यहाँ पुग्दा उनको शरीर पुरै रक्ताम्मे, कपाल लुछिएको, नग्न शरीरलाई कालो ज्याकेटले छोपिएको देखेपछि उनी बेहोस् भइन् । हतार हतार १० मिनेटको दूरीमा रहेको प्रदेश अस्पताल र्पुयाइए पनि उपचार सुरु नहुँदै इनिसालाई डाक्टरले मृत घोषणा गरे ।
यो विषयले अहिले न्याय माग्दै आन्दोलनको रुप लिएको छ । देश नै तरङ्गित बनेको छ । सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई कारबाही नभएसम्म शब नबुझ्ने परिवारले अडान लिएको छ ।
यस विषयमा कानुनी कार्वाही गर्नुपर्ने माग गर्दै सेलिब्रेटीहरुले आवाज उठाउन थालेका छन् । सामाजिक सञ्जालमा अहिले यही विषयले स्थान पाइरहेको छ ।
अभिनेत्री सुरक्षा पन्तले बलात्कार मुक्त समाज ह्याजट्याग गर्दै लेखेकी छन् – ‘प्रिय पुरुष पात्र, केवल एक प्रश्नको उत्तर दिनु भए आभारी हुने थिएँ – बलात्कार-हत्या जस्तो जघन्य अपराधको जड के हो ? सत्य बोल्नुहोला ।’
त्यस्तै, गायक प्रमोद खरेलले लेख्नु भएको छ – ईनिसा विक माथिको घटनाले फेरि पनि मन भत्काएको छ । यो केवल एक घटना हैन समाजको घाउ हो । यस्ता घटनामा अब मौन बस्नु हुँदैन । बलात्कार र हिंसाविरुद्ध सबैले आवाज उठाउनु आवश्यक छ । दोषीलाई कडा कारबाही होस् र पीडितलाई न्याय मिलोस् ।’
गायिका एलिना चौहानले इनिशाको तस्बिर राख्दै बलात्कारीलाई फाँसीजस्तो कठोर सजाय दिनुपर्ने माग गरेकी छन् । उनले लेखेकी छन्, ‘जबसम्म बलात्कारीलाई कडा सजाय फाँसी जस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन ।’
गायिका रचना रिमालले पनि लेखेकी छन्, ‘हामी सबैले आवाज उठाउनै पर्छ । छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउनुपर्छ । अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउने हो । छोरीहरुको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो ।’
गायक तथा अभिनेता प्रकाश सपूतले राज्यले यस्ता घटनामा ‘शून्य सहनशीलता’को नीति अपनाउनुपर्ने बताएका छन् । फेसबुकमा लेखेका छन्, “र, तर, वा, अथवा, तथापि भन्दै अपराधीलाई उम्काउने बहाना नखोजियोस् । हामीले थप छोरीहरू गुमाउन नपरोस् ।’
अभिनेत्री केकी अधिकारीले समाजको नैतिक अवस्थामाथि प्रश्न गर्दै लेखेकी छन्, “हामी समाजका रूपमा कहाँ उभिएका छौं ? कतै हामीले नै यस्तो जघन्य हिंसालाई सामान्य बनाइरहेका त छैनौँ ? दोषी नउम्कियोस्, कडा भन्दा कडा सजाय दिलाइयोस् । समाजको चेत खुलोस् । अनि विकासका कुरा गरौंला ।’
गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी इनिशा हाल सुर्खेतको वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई फउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


