बिर्तामाेड । फिल्म ‘कार्साङ्’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिति समेत घोषणा गरेको हो । दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘कार्साङ्’ पुस २६ गतेबाट सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ ।
सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखुलाई देख्न सकिन्छ । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको बुझिन्छ ।
छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन् । उनी रोइरहेकी छन् । आँगनमा ग्यालिन लडेको छ । बिर्को खोलिएको ग्यालिनबाट केही पोखिएको छ । रक्सी हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
कार्साङको टाइटल अक्षर र सिर्जनाको पहिरनले यो हिमालमा बस्नेहरुको कथा भन्ने झल्को दिन्छ । पृष्ठभूमिमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने बुझ्न सकिन्छ । घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ ।
यम शेर्पा निर्देशित फिल्मको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको निर्माण टिमले जनाएको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।
फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय रहेको पोस्टरमा उल्लेख छ ।
बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका निर्माता समेत हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।