बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका बुधबार सार्वजनिक गरिएको छ । नगरपालिकाको सभाहलमा पुस्तिका सार्वजनिक गर्दै सबैखाले चुनौतीहरुलाई चिर्दै जनताको सेवामा लाग्न नगर प्रमुख पवित्रा महतारा प्रसाईंले आग्रह गर्नुभएको छ ।
नगरप्रमुख प्रसाईले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई वडा-वडामा नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले काम गर्दै जाँदा आउने बाधा अड्चनलाई समाधान गर्दै विकास निर्माणलाई अघि बढाउनु साझा जिम्मेवारी भएको बताउनुभयो । पुस्तिकामा उल्लेखित विकास योजनाअनुसार काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै प्रमुख प्रसाईले जनप्रतिनिधिहरुलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
‘सबै वडाहरु काममा उत्कृष्ट छन्’, उहाँले भन्नुभयो, ‘अबको वर्ष पनि जनताको काम उत्कृष्ट ढंगले हुने विश्वास छ ।’ जनप्रतिनिधि र कर्मचारीहरुको प्रयासले जिल्लामा अन्य पालिकाभन्दा उत्कृष्ट काम गर्न सफल भएको उहाँको भनाइ छ । ‘नीति कार्यक्रम तथा बजेट कार्यान्वयनमा गल्ती कमजोरी सुन्न नपरोस्’, उहाँले भन्नुभयो, ‘कमजोरी भएमा त्यसको असर जनतालाई हुनेछ । हामीले जनतालाई असर पुग्ने काम गर्न हुँदैन ।’
बजेट पुस्तिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।
बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरको शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको थियो ।
नगर उप-प्रमुख संगौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिनुभयो । तीन वटा पालिकालाई एउटै विकासको गति दिन पनि उप-महानगरपालिका बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डेले विकास निर्माणमा बिर्तामोड अब्बल भएको बताउनुभयो । उहाँले शुभकामना दिँदै नगरको विकासमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।