Home स्थानीय समाचार बिर्तामोडमा डेंगु नियन्त्रण बारे अभिमुखीकरण

बिर्तामोडमा डेंगु नियन्त्रण बारे अभिमुखीकरण

by Parda Sansar
A+A-
Reset

बिर्तामोड, २८ भदौ । बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नगरपालिकाको सभाहलमा शुक्रबार स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबै आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालय तथा टोलविकास संस्थाहरुसँगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइनेछ ।’

बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ । यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले डेंगुको महामारीको संक्रमण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम रहेको बताउनु भयो । उहाँका अनुसार झापामा १४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये बिर्तामोड र दमकमा संक्रमितको संख्या बढी छ ।

कार्यक्रममा इन्सेफ्लाइटिसको जोखिमका विषयमा पनि जानकारी गराइएको थियो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार झापामा ४ जनामा इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । जसमध्ये मेचीनगरका एक जनाको मृत्यु भइसकेको छ ।

डेंगु परीक्षणमा ६ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाइने विषयमा नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुलाई सचेत गराएको छ । अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपसचिव तिलचन भण्डारी, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारी, सञ्जीवनी हार्ट हस्पिटलका डा. सि.पी यादव, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत बिर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोडका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link