एकराज प्रधान
उपासनासिंह ठकुरीको लिड रोल रहेको चलचित्र हो खुश्मा । जुन भर्खरै संविधान दिवसको अवसर पारेर रिलिज भएको छ । फिल्मले एउटा गाउँको सामान्य परिवार अनि परिवेशको कथा बोल्छ । खासगरी द्वन्द्वकालीन अवस्थालाई पर्दामा देख्न पाइन्छ । राज्य पक्ष र विद्रोही पक्षको बीचमा घुनझैँ पिसिइरहेका सर्वसाधारणको व्यथालाई कथाको रुपमा फिल्ममा प्रस्तुत गरिएको छ ।
रुकुमको मैकोटमा अधिकांश सिनहरु खिचिएको फिल्ममा दृश्यहरु मन लोभ्याउने छन् । निर्देशक अशोक थापा मगरको मेहनत फिल्मका दृश्यहरुमा देख्न सकिन्छ । तर, सम्पादन र स्क्रिन प्लेमा भने थोरै गडबडी हुँदा कतै कतै दाँतमा ढुङ्गा लागेजस्तो हुन जान्छ ।
विषयवस्तु
‘खुश्मा’ २०५२ सालपछिको गृहयुद्ध भोग्ने नेपालीहरुको कथा हो । हुन त गृहयुद्धका कथामा धेरै फिल्महरु बने । तर, खुश्माले खासगरी नारीको आँखाबाट त्यो समयलाई कसरी महसुस र्गयो, कस्ता कस्ता परिस्थितिको सामना गर्नु र्पयो भनेर देखाउन खोजेको छ । सँगसँगै आफ्नो गाउँलाई माया गर्ने, यहीँ सुन्दर सपना देख्नेहरुको कुरा पनि फिल्ममा भेटिन्छ । रुकुमको जीवनशैली, मगर संस्कार अनि संस्कारले पारेका केही अप्ठ्याराका विषयमा पनि फिल्मले प्रश्न गर्छ । जस्तो कि फुपूकै छोरासँग बिहे गर्नुपर्ने बाध्यता र यसले निम्त्याउने द्वन्द्व पनि फिल्ममा देख्न सकिन्छ ।
पात्र र चरित्र
फिल्ममा खुश्माको रुपमा देखिएकी छन् उपसना सिंह ठकुरी । जो सहरमा पढेर गाउँमा फर्किएकी छ । अधिकांश फिल्महरुमा मोर्डन पहिरनमा देखिने उनी यो फिल्ममा भने साडी र लुङ्गी जस्ता गाउँले पहिरनमा देखिएकी छन् । लभ सिनमा मुस्कुराउँदा होस् वा इमोसनल सिनहरुमा रुँदा उनको एक्सप्रेसन एक्दमै राम्रो देखिन्छ । गाउँले क्यारेक्टरमा यस्तो राम्रो काम उनीबाट होला भनेर कमैले कल्पना गरेको हुनुपर्छ । खुश्माको चरित्रलाई उनले हन्ड्रेड पर्सेन्ट निभाएकी छन् ।
फिल्ममा गेमी प्लेड बाइ धीरज मगर, जो खुश्माको अपोजिटमा देखिएका छन् । यो फिल्ममा धुँवादार हिरोइज्मको एक्सपेक्ट गर्न मिल्दैन । किनकि यो आममान्छेको कथा हो । धीरजलाई एउटा सामान्य आममान्छेको रुपमा फिल्ममा देखाइएको छ । फिल्ममा फाइटभन्दा पनि ‘लाप्पा’ खेलेको हेर्न मज्जा आउँछ । लछारपछार पार्दै झगडा गरेको दृश्यले निक्कै रोमाञ्चक तुल्याउँछ ।
धीरजलाई यो फिल्ममा द्वन्द्वका बेला अन्योलमा रहेका युवाको रुपमा प्रस्तुत गरिएको छ । एउटा चञ्चले मन भएको केटो परिवारको जिम्मेवारी, विद्रोहीको डर, सुरक्षाकर्मीको त्रास, विदेश विकल्प जस्ता परिस्थितिमा कसरी फँस्छ र उसले के निर्णय गर्छ भन्ने कुरा फिल्ममा देखाइएको छ ।
फिल्ममा माओत्से गुरुङ एक शिक्षकका रुपमा देखिएका छन् । जो गाउँमा राम्रो विद्यालयको सपना देखिरहेका हुन्छन् । उनले देखेको सपना हेर्दा हेर्दै निमोठिएको देख्दा भने भावुक तुल्याउँछ ।
फिल्ममा खुश्माको बुबाको रुपमा विजय सन्योक सुब्बालाई देख्न सकिन्छ भने सुजता राईलाई बहिनीको रुपमा देखिन्छ । त्यस्तै, अस्तित्व भट्टचनले एज अ मनेको क्यारेक्टरमा निक्कै राम्रो अभिनय गरेका छन् । जो खुश्मालाई धेरै नै माया गरिरहेका छन् ।
अरुन पुन मगर कान्छाको क्यारेक्टरमा छन् । खुश्माको देवर। उनको अभिनय पनि र्फक्ट लाग्छ ।
राजु रेग्मी मगर थोरै नेगेटिभ रोलमा ‘आइते भेना’को भूमिकामा देखिएका छन् । पर्दामा उनी रिसाउँदा दर्शक भने हाँस्न थाल्छन् । भिलेन क्यारेक्टरबाट पनि हँसाउने प्रयास फिल्ममा गरिएको छ ।
खड्गबहादुर पुन सपोर्टिभ रोलमा कमेडीका लागि राखिए जस्तो लाग्छ । तर, त्यति बलियो क्यारेक्टर भने लाग्दैन । फिल्ममा अरु पनि धेरै पात्रहरु छन् । समग्र अभिनयको कुरा गर्नुपर्दा सबैको ठिकठिकै लाग्छ ।
कथानक
फिल्ममा कथानक र स्क्रिन प्लेमा केही कमजोरी भेटिन्छ । स्टोरी टेलिङ निक्कै नै सुस्त लाग्छ । कथानक ब्युल्डअपको एउटा विन्दुमा पुग्दा फिल्म आधा हुन्छ । अर्थात्, द्वन्द्वकालको पीडा हेर्न गएकाहरुले हाफटाइमसम्म कुर्नु पर्छ । त्यसअघि तीन जना केटाहरु खुश्माको पछि लागेको सिन र मगर संस्कृति अनि मैकोटका दृश्यहरुमा फिल्मले बढी जोड दिन्छ ।
व्यवस्था बदलिन कोही बुझेर लागेका छन्, कोही नबुझी अनि कोही बाध्यतावश । विद्रोहीहरुले बास माग्ने अनि सेना प्रहरीले बास दिनेहरुमाथि गर्ने क्रुर व्यवहार देख्दा हामीलाई रिस उठ्छ । अझ भोग्नेहरुले कसरी झेले होला यस्तो परिस्थिति ? हरेक दर्शकलाई सोच्न बाध्य बनाउँछ । भोग्नेहरुलाई त धुरुधुरु रुवाउँछ ।
मनपरेका कुरा
द्वन्द्वकालीन त्यो समयमा एउटा परिवारले भोगेको पीडालाई जस्ताको त्यस्तै देखाउने प्रयास गर्नु राम्रो कुरा हो । प्रिय मान्छेको हत्या हुनु, बेपत्ता बनाइनु अनि एक दिन फर्केर आउँछन् कि भनेर पर्खेर बस्नेहरुको पीडा हेर्दा साँच्चै नमज्जा लाग्छ ।
फिल्ममा कुनै असजिलो सिन क्रिएट नगरी धीरज र उपसनाबीचको गाढा प्रेमलाई देखाइएको छ । उनीहरुको आँखा र अनुहारमा देखिने गहिरो प्रेम नै काफी देखिन्छ ।
दर्शकलाई देखाउन खोजेको सिनहरु निर्देशकले निक्कै क्लियारिटीका साथ देखाएका छन् । सम्बन्धको महत्व खासगरी इमोसनल सिनहरुलाई निक्कै धेरै सटहरुबाट देखाइएको छ । अझ कलर टोनले निक्कै सपोर्ट गरेको छ । पात्रहरु कति पीडामा छन् भन्ने कुरा कलर टोनबाटै अनुभूत हुन्छ ।
उपासनाको अभिनयलाई पनि सशक्त पक्ष मान्नुपर्छ । फिल्मको गीत पनि बेस्ट लाग्छ । सुरेन्द्र रानाको शब्द अनि एसडी योगी र शान्तिश्री परियारको स्वरमा रहेको ‘रुकुमैकोट’लाई पर्दामा हेर्न निक्कै मज्जा आउँछ । रामअविरल विष्टको शब्द अनि एसडी योगी र विज्ञानी पराजुलीको स्वरमा रहेको ‘खुशीका फूल बटुलेर’को प्लेसमेन्ट निक्क गजब्ब रहेको छ ।
जिज्ञासा
फिल्म धेरै स्लो भएन र ? भन्ने पहिलो जिज्ञासा बनेर आउँछ । स्टोरी टेलिङ पनि कता कता मसला नपुगे जस्तो लाग्छ । अनि अर्को कुरा खुश्मा र उनको आमाको अनुहार हेर्दा चाहिँ एज ग्याप मिलाइएन जस्तो महसुस हुन्छ ।
कमेडीमा पनि पञ्च लाइनको कमी लाग्छ । खबपूलाई हँसाउनका लागि राखिए पनि यो किन राखिएको होला जस्तो फिल गराउँछ । मतलब न हाँस उठ्छ, न यो क्यारेक्टर सपोर्टिभ नै लाग्छ ।
दृश्यमा द्वन्द्वकालका परिदृश्यहरुको अझै बढी आशा थियो । द्वन्द्व चलिरहेको कुरा केवल रेडियोमा सुनिन्छ, त्यसले गाउँमा सिर्जना गरेको सन्त्रासको माहोल भने खासै देख्न पाइँदैन । फिल्ममा मुरलीको धुन र इमोसन सिनका केही ब्याकक्राउन्ड स्कोर बाहेक अरु बिजीएम खासै नोटिसेबल लागेन ।
आन्दोलनको सिन क्रिएसनमा निक्कै हतार गरिएको जस्तो लाग्छ । यदि मेहनत पुगेको भए फिल्मकै बलियो सिन हुन सक्थ्यो । नेपाली फिल्मको एउटा कमजोरीको रुपमा देखिने सिन हो, क्राउड बेस सिन । जुन यो फिल्ममा पनि फिल हुन्छ ।
अन्तिममा फिल्मलाई त्यस्सै तन्काएजस्तो लाग्छ । जसरी ट्रेलरको इन्डिङ छ, यदि फिल्म पनि त्यसरी नै सकिएको भए अझै मजा आउँथ्यो । तर, होइन । बुझिसकेको कुरा फेरि रिपिट गरेर अर्थ्याउन थाल्दा फिल्म अनावश्यक तन्काएको फिल हुन्छ । फिल्म त्यस्तो वाउ टाइपको पनि छैन । द्वन्द्वको कथा र उपासना अनि धीरजको अभिनय भने बलियो छ । मन छुन्छ । सारमा भन्नुपर्दा फिल्मले नेपालीहरुले भोगेको एउटा कालखण्डलाई महसुस गराउँछ ।
वीरबहादुर लामा, चन्द्र भट्टचन, बेटानी मगर, मानबहादुर मगर निर्माता रहेको फिल्ममा सुस्मिता बुढाथोकी सहनिर्माता रहेकी छन् । दिपक बज्राचार्यको उत्कृष्ट सिनेमाटोग्राफी रहेको फिल्म अशोक थापा मगरले सम्पादन गरेका हुन् । फिल्ममा विजय वाग्लेको भिएफएक्स, जुनिम गहतराजको कलर र द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ ।