बिर्तामोड । बिर्तामोड-१ स्थित झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । आफूहरुले दिँदै आएको सेवा सुविधाबारे जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष मनाएको हो ।
बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको थियो । १ भेन्टिलेटर, ४ एनआईसीयू, ५ पीआईसीयू र ५ नर्मल बेडसहित १५ वटा शैयासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेष डा. रुपक आचार्यले बताए ।
‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा उनले भने, ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरा बताउँछ ।’ बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपीडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको तथ्याङ्क उनले सुनाए । जसमध्ये एक जनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले सफलतापूर्वक स्वास्थ्य लाभ लिएको डा. आचार्यले बताए ।
बालबालिकाहरुमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला लगायतका जटिल रोगहरु देखिने गरेको अस्पतालले जनाएको छ । शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको डा. आचार्यले जानकारी गराए ।
अस्पतालकी प्रमुख डा. सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गरेकी थिइन् । अध्यक्ष मैनालीले आफूहरुले पूर्ण रुपमा सेवा भावले अस्पताल सञ्चालन गरेको बताउँदै सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, बिर्तामोड १ नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अस्पतालका सुपर भाइजर राजेन्द्र मैनाली, फाउन्डर दीपक प्रसाद आचार्य, प्रेमा आचार्यको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण लेखक तथा पत्रकार लीला अनमोलले गरेकी थिइन् ।