बिर्तामोड । प्रदीप खड्का स्टार्र बहुप्रतिक्षित चलचित्र ‘एक्टर’को टिजर शुक्रबार सार्वजनिक भएको छ । राज भुसालको निर्देशनमा बनेको चलचित्रको टिजरमा प्रदीप खड्कालाई अनेक अवतारमा देख्न सकिन्छ ।
टिजरमा दिव्या रायमाझीलाई इन्ट्रोड्युस गरिएको छ । यो फिल्मबाट डेब्यु गरेकी दिव्या र आना शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । यही फिल्मबाट कमब्याक गरेका राज बल्लभ कोइरालाले टिजरमा बलियो उपस्थिति देखाएका छन् । प्रदीप खड्काको हिरोइज्मलाई पर्दामा उनले निक्कै कडा टक्कर दिने पक्का छ । समग्र टिजरले मेन क्यारेक्टरहरुलाई रिभिल गर्दै क्लाइमेक्समा छाडिदिएको छ । टिजरमा यादगार लाग्ने एउटा सम्वाद छ, ‘सपना देख्न हैसियत होइन, हिम्मत चाहिन्छ ।’
फिल्ममा अन्य कलाकारहरुमा दिव्यदेव, सुशील सिटौला, उषा रजक, सिर्जना अधिकारी, अनोज पाण्डे, बादल भट्ट, प्रदीपकुमार चौधरी, देवेन्द्र नेपालल लगायतलाई देख्न सकिनेछ । अदृत सिनेमास् तथा मोती सिनेमास्को संयुक्त प्रस्तुतिमा बनेको सिनेमाको निर्माता थमन कुमार भण्डारी हुन् । त्यस्तै, क्रिएटिभ निर्मातामा मोटी कार्की र सहनिर्मातामा अनिस भुसाल रहेका छन् ।
सिनेमा आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । ओएसआर डिजिटलमा सार्वजनिक भएको टिजरको मिक्सिङ उत्तम न्यौपानेले गरेका हुन् । सिनेमा लक्ष्मीपूजाको दिन रिलिज हुँदैछ ।