झापा । आज असोज ११ गतेबाट हलहरुमा दुई नयाँ फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका छन् ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको ‘सानो संसार’ र जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ एकैदिन प्रदर्शनमा आएका हुन् । ‘खुश्मा’ले कब्जा जमाएको हलहरुमा यी दुई फिल्महरुले तुलनात्मक रुपमा निक्कै कम शो पाएका छन् । तर, प्रिमियरमा निक्कै राम्रो प्रतिक्रिया पाएको यी दुवै फिल्म अब ‘वर्ड अफ माउथ पब्लिसिटी’को जरुरी देखिएको छ ।
आँखा
‘आँखा’ मा भने राजधानीका नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा चित्रण गरिएको छ ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको ‘आँखा’ मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णझमहर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईलगायत कलाकारको अभिनय छ ।
निर्देशक योञ्जनकै कथा, पटकथा रहेको यो फिल्मको निर्माता पनि योञ्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर छ्न् । फिल्मको सहनिर्मातामा रेनुका कार्की ढोली रहेकी छिन् ।
यो फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको यो फिल्ममा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।
सानो संसार
नेपालका अधिकांश मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा यो फिल्मले प्रस्तुत गरेको छ ।
निर्माता अर्जुन कुमार रहेको यो फिल्ममा सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । फिल्ममा उनीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतमलगायत कलाकारको अभिनय छ । यी सबै कलाकारले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मुभिजको ब्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सानो संसारका निर्देशक पुडासैनीलाई कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छिन् । प्रवीन खड्काको छायांकन र रोमी तण्डुकारको सम्पादन रहेको फिल्मको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नरमा टुनामुना कन्सेप्ट रहेको छ ।