बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडले झापा जिल्लाका दुईवटा उच्च माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार छात्राहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच विद्यालयमा लाग्ने पुरै शुल्क बराबरको छात्रवृत्ति चेक हस्तान्तण गरिएको हो ।
क्लबका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री बुद्ध आदर्श मावि, बुद्धशान्तिकी कक्षा ११ मा अध्ययनरत छात्रा अनिता बास्कोटालाई व्यवस्थापन संकायको लागि र महेन्द्र रत्न मावि बिर्तामोडकी कक्षा ११ मा अध्ययनरत पुष्पा राजवंशीलाई विज्ञान संकायको लागि पुरै शुल्क बराबरको चेक हस्तान्तरण गरिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सेढाई, बुद्ध आदर्श मावि लेखा शाखा प्रमुख देवेन्द्र निरौला, प्रधानाध्यापक खड्ग खरेल, सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले चाइल्ड एजुकेशन फन्डबारे जानकारी र क्लबका अध्यक्ष भद्रपुरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
छात्रवृत्ति परियोजनाका संयोजक गुरुझन्यौपानेले स्वागत मन्तव्यको क्रममा आफ्नो बुबा नन्दलाल न्यौपाने र आमा चन्द्रमाया न्यौपानेको स्मृतिमा छात्रवृत्ति प्रयोजनका लागि आफ्नो व्यक्तिगत लगानीमा अक्षयकोष स्थापना गरी महेन्द्र रत्न माविलाई २ लाख ५१ हजार १११ बराबरको चेक समेत हस्तान्तरण गर्नुभयो ।
क्लब सेक्रेटरी डा. सन्ध्या राठीले सञ्चालन गर्नुभएको कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष राजकुमार पोखरेल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष डा. लक्ष्मी मैनाली, विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिकाहरू, विद्यार्थी, अभिभावक, रोटरी क्लबका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।