Home Main Highlight News छक्कापञ्जा ५ मा देशप्रेम

छक्कापञ्जा ५ मा देशप्रेम

by Parda Sansar
A+A-
Reset

एकराज प्रधान

यस वर्षको दशैँमा चलचित्र क्षेत्रमा एउटा प्रतिस्पर्धा चल्यो – एक्सन कि कमेडी ? दर्शकहरु दुई भागमा बाँडिएर खुलेरै समर्थन र विरोधमा उत्रिए । एकातिर विराज र समीरको १२ गाउँ अर्कातिर दिपक-दिपाको छक्कापञ्जा ५ र जीतु नेपाल अर्थात् मुन्द्रेको ज्वाइँसाब । अब ज्वाइँसाब त बेलैमा रिङ आउट भइसकेको छ भने मुख्य प्रतिस्पर्धामा छन् १२ गाउँ र छक्कापञ्जा ५ ।

काम, कन्टेन्ट अनि कमाइका हिसाबमा छक्कापञ्जाका सबैजसो भागहरु लोकप्रिय बनेका छन् । तर, सिरियल बनाउनेले फिल्म बनाएको भन्दै दर्शक भड्काउने काम यसपालि पनि भयो । दिपकराज गिरीलाई पनि हिरो मान्नु र भन्ने तर्कहरु पनि देखिए । तर, छक्कापञ्जाको हिरो दिपकराज गिरी होइन, यसको कथा हो । यसले दर्शकमा डेलिभर गर्ने म्यासेज हो । यो केवल फिल्म मात्र होइन, जनताको तीतो सत्य बोल्ने आवाज हो । अब जनताको आवाजलाई दर्शकले साथ नदिने कुरै भएन । पिक्चर सुपरहिट भयो ।

१२ वर्षसम्म ‘तीतो सत्य’ टेलिश्रृङ्खलामा लेखन, निर्देशनदेखि अभिनय गरेर निखारिए पनि झन्डै १२ वर्षअघि यो टिमले बनाएको ‘सुन्दर मेरो नाम’ नराम्ररी चिप्लिएको थियो । एउटा इन्टरभ्युमा दिपकराज गिरीले भनेका छन्, ‘सुन्दर मेरो नाममा फेल भएँ, पास हुने भोकले अहिले यहाँ छु ।’
त्यसपछि निक्कै समयको ग्याप गरेर उनले ६ एकान ६, वडा नम्बर ६ ल्याए । अनि सुरु भयो छक्कापञ्जाको सिरिज । जुन वर्षेनी आइरहेको छ । छ माया छपक्कैलाई पनि जोड्ने हो भने आठ वटा फिल्महरु व्यावसायिकरुपमा पनि सफल छन् । राजनीतिक विषयलाई दर्शकले खासै नरुचाइरहेको बेला उनले राजनीतिलाई नै कन्टेन्ट बनाउने हिम्मत गरे ।

छ माया छपक्कैमा पानीमा भएको राजनीति देखाउँदै नेता पार्टीले होइन जनताले जन्माउँछ भन्ने सन्देश दिए । छक्कापञ्जा ४ मा सामाजिक सञ्जालमा स्टन्ट गरेर राजनीति गर्नेहरुमाथि थप्पड हान्दै ठूलो मान्छे होइन राम्रो मान्छे हुन सिकाए ।

छक्कापञ्जा ३ मा सरकारी स्कुलमा घुसेको राजनीतिक चलखेल र भइरहेको लापर्वाहीलाई छर्लङ्ग देखाइएको छ । छक्कापञ्जा २ मा अब्रोड स्टडीको लागि डिपेन्डेन्ट खोज्नेहरुको कथा देखाउँदै अस्ट्रेलिया अमेरिका भाँसिनेहरु उतै हराउने व्यथा कोट्याएका छन् । अनि पहिलो छक्कापञ्जामा विदेश बाध्यता र त्यसले निम्त्याएको सामाजिक समस्याको गहन विषयलाई मजाकिलो पारामा पस्केका छन् । विदेशिएकाहरुको श्रीमतीलाई ताक्ने स्वघोषित राजाहरुको कथा र उसलाई तह लगाउने श्रीमती र पारिवारिक सम्बन्धको कथा यो फिल्ममा देखिन्छ ।

यसरी अहिलेसम्मका छक्कापञ्जा फन्चाइजहरुलाई सारमा हेर्दा पोस्टरमा अनुहार भए पनि हिरो चाहिँ यसको कथालाई मान्न सकिन्छ । अब छक्कापञ्जा ५ मा के छ, किन यतिधेरै मनपराइयो भन्ने विषयतर्फ लागौँ ।

कथानक
सरकारी कर्मचारीले घुस खाएको कुरा प्रत्यक्ष-अप्रत्यक्ष देखे-सुनेकै विषय हो । तर, यो फिल्मले एउटा इमान्दार सरकारी कर्मचारीको कथा बोल्छ । जो घुस लिँदैन । घुस नखाँदा उसले खानु परेको हन्डरहरु फिल्मले देखाउँछ । राजनीतिक दबाबदेखि आफन्त, साथीभाइको समेत प्रेसर झेल्नुपर्छ । उसको देशैभर सरुवा हुन्छ र अन्त्यमा जगेडामा उसलाई थन्काइन्छ । जसले एउटा कुरा दर्शकमा के प्रस्ट गराउँछ भने, घुस लिने र दिनेको मात्र समस्या होइन, यो एउटा सामाजिक माहौलले निम्त्याएको राष्ट्रिय समस्या हो ।

सारमा फिल्म यत्ति हो । तर योसँगै अनेक कथाहरु जोडिएका छन्, जसमा अनेक स्वाद भेट्न सकिन्छ । सुदुर पश्चिममा राजाको सन्तान हुँ भन्ने बाउ-छोराको वरिपरि कथा घुम्छ । यहाँ राजा पृथ्वीनारायण शाहको शालिक देखाइन्छ र ‘घुस लिने र दिने दुवै देशका शत्रु हुन्’ भन्ने उनको भनाइलाई बलियो ढङ्गमा प्रस्तुत गरिएको छ ।

फिल्ममा सडकको कथा, म्यारिज ब्युरो चलाउने साथीको कथा, मनमा देशभक्ति राखेर डीभी भर्नेहरुको कथा, दशैँ इमोसन, नेता र कर्मचारीको कुरा, फेसबुक लाइफको सिन, कर्मचारीतन्त्र, राजनीति र विमानस्थलमा देखिने गरेको मुटु पोल्ने व्यथा देखाइएको छ ।

पात्र र चरित्र
दिपक राज गिरी एज अ पृथ्वी विक्रमको रोलमा छन् । आफ्नो इमान्दारितामा उनलाई गर्व छ । रोश्नीको रुपमा छिन् वर्षा शिवाकोटी । एउटा रेडियोकर्मी, जसको बोलीमा देशको कुरा हुन्छ तर मनमा अमेरिका जाने सपना ।
पृथ्वीको बुबाको रुपमा छन्, त्रिलोक अर्थात् प्रकाश घिमिरे । आफूलाई राजाको पुर्खा मान्ने एक भरिया । स्वभाव कडा तर मनैदेखि देशझ। उनले हसाउने, रिस उठाउनेदेखि रुवाउन पनि भ्याउँछन् ।
रोश्नीको बुबाको क्यारेक्टरमा छन् राजाराम पौडेल । लालची भ्रष्ट नेता । उनको उपस्थितिमा दर्शकले हाँस्ने मुड बनाइहाल्छन् । प्वाक्क केही बोल्यो कि दर्शक गलल ।
त्यस्तै, यो फिल्ममा झ्याइँझ्याइँ म्यारिज ब्युरो चलाइरहेका छन्, माग्ने बुढाले अर्थात् केदार घिमिरे । क्यारेक्टर, लुक्स अरु फिल्ममा भन्दा निक्कै फरक छ । पृथ्वी नारायणको ‘हनाती’ भन्ने डायलग यादगार छ, यसले फिल्मलाई अझै इन्ट्रेस्टिङ बनाएको छ ।
लोकेन्द्र लेखक चाहिँ कर्मचारी युनियनको अध्यक्षको रुपमा देखिएका छन् । घमण्डी क्यारेक्टरले उनलाई निक्कै सुहाएको छ । कमलमणि नेपाल एज अ लयर्स र निर्मल शर्मा जर्जका रुपमा देखिन्छन् । रमेश बुढाथोकी चाहिँ ठेकेदारका रुपमा नेगेटिभ रोलमा छन्, ट्याकट्याक ढ्याक उनको रिपिटेड डायलग सम्झन लायक छ । त्यस्तै, फिल्ममा आर्यन सिग्देल र दिपाश्री निरौलाको सर्ट अपेरियन्स रहेको छ । अरु पनि थुप्रै कलाकारहरुलाई फिल्ममा देख्न सकिन्छ ।
गीतसंगीतको कुरा गर्नुपर्दा ‘धानको बाला’ र ‘ब्रेकअप सङ’मा दर्शक हलमै नाचेका थिए । बीचमा आउने लभसङ पनि ठिकठाक रहेको छ ।

सकारात्मक पक्ष
फिल्मको स्टोरीलाइन निक्कै गहकिलो छ । इमानको बाटो हिँड्न कति गाह्रो छ, सिद्धान्त र आदर्शलाई सामाजिक सोचले कतिसम्म घेर्छ भन्ने कुरा घतलाग्दो गरी देखाइएको छ । कर्मचारीलाई घुस खान बाध्य बनाउने कतै हामी आफैँ त होइनौँ भन्ने फिल पनि फिल्मले गराउँछ । फिल्मले आफ्नो बारेमा मात्र होइन, देशको बारेमा सोच्न सिकाउँछ ।
क्राउड सिनहरु हेर्न मज्जा आउँछ । धेरैजसो नेपाली फिल्ममा क्राउड सिनमा भिडभाड निक्कै कम देखिन्थ्यो । तर, यो फिल्ममा गर्व गर्न लायक सिन हेर्न पाइएको छ । सम्वादहरु सटिक र बलिया छन् । वर्षा शिवाकोटीको रिस उठ्दो र रोमान्टिक दुवै क्यारेक्टरमा राम्रो अभिनय छ ।

कमजोरी
फिल्ममा चुरोट रक्सीको सिन चाहिँदोभन्दा बढी भए जस्तो लाग्यो । जे कुरा पनि ठिक्क सुहाउँछ, बढी भयो भने पचाउन गाह्रो पर्छ । त्यसै पनि चुरोट रक्सी नपच्ने कुरा ।
अर्को, डिभीवाला कथालाई अलिक छोट्याउन सकिन्थ्यो होला । यसले अलिकति धेरै समय लियो, हल्का बोर भयो ।
फिल्ममा धेरै जसो पात्रहरुको इन्ट्री कारबाट हुन्छ । यो पनि अलिक बढी भयो कि !
फिल्ममा इमान्दार कर्मचारीले दु:ख पाएको त देखाइयो तर उसको पक्षमा उभिने जनसमर्थन देखाइएन । इमान्दार कर्मचारीलाई जनताले गर्ने माया र सम्मानको पाटोलाई फिल्मले छुन सकेन । खाल्डो परेको सडक र बाघ त देखाइयो तर आममान्छेले कर्मचारीबाट पाइरहेको दु:खलाई ग्रास लेभलमा फिल्मले देखाउन सकेन । प्रशासकीय अधिकृतको जिम्मेवारीका विविध पाटोलाई छाडेर फिल्म एउटा ठेकेदारको कुरा र श्रीमती फकाउने कुरामै बढी अल्मलिन्छ ।
कथा भन्ने कुरामा पनि धेरै दर्शक कन्फ्युज रहे । क्लाइमेक्सबाटै सुरु भएको फिल्म न्यारेटिभबाट अघि बढ्छ । फेरि बीचमा अदालतका वकिलबाट कथा सुनाइन्छ । ब्याक स्टोरी कताबाट सुरु हुन्छ, कता अन्त्य हुन्छ र प्रेजेन्ट स्टोरी फेरि कसरी जोडिन्छ भन्नेमा आमदर्शक अलमलिएका छन् । यसबाट स्क्रिन प्लेमा थोरै कमजोरी भएको फिल भयो ।
कमेडीको एस्पेक्टमा पनि पहिलेको तुलनामा कमै मात्र हाँस्न पाइयो । ब्याकग्राउन्डमा रातो र चन्द्र सूर्यको ट्युन सुन्न मज्जा आयो । तर, ‘रअअअ राजा’ अनि ‘कपुरी क, खरायो ख’वाला मौलिक भाइब्स दिने मेकर्सबाट यस्तै नयाँ कुराको आश थियो ।
फिल्मले देखाउन खोजेको कुरा राम्रो छ । ह्युमर, गीत संगीत, सिनेमाटोग्राफी अनि गहन कथावस्तु बलियो छ । फिल्मले आफ्नो देशलाई माया गर्न सिकाउँछ । त्यसैले दर्शकबाट पनि बलियो साथ पाइरहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link