इटहरी । अभिनेता नाजिर हुसैन र अभिनेत्री सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्म ‘मिसिङ : केटी हराएको सुचना’ यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
यतिबेला प्रचारप्रसार अन्तर्गत कोशी प्रदेशमा फिल्मको पोस्टर पब्लिसिटी तिहार अघि र तिहारपछि तीन दिन लगाएर सम्पन्न भएको छ । कोशी प्रदेशको इटहरी, विराटनगर, धरान, दमक र बिर्तामोडका ५०-५० ओटा सफारीहरूमा फिल्मको पोस्टरहरू लगाइएको छ । सहर-बजारमा प्रत्यक्ष पुग्ने भएकाले यो शैलीबाट फिल्मको प्रचारमा सहयोग पुग्ने देखिएको छ ।
प्रचार सहयोगीहरूका अनुसार, पोस्टर देख्ने धेरै दर्शकहरूले “केटी हराएको सूचना” भनेर झुक्किएका थिए, जसले फिल्मको नामले दर्शकमा कौतूहलता थपेको छ । पोस्टरको अनौठो नामले फिल्मको कथामा केही भिन्नता रहेको संकेत गरेको छ । यसले गर्दा दर्शकहरूमा कौतुहलता जगाएको छ । ‘मिसिङ : केटी हराएको सूचना’लाई निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन् । यो उनको लगानी र स्क्रिप्टमा बनेको फिल्म हो ।
फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ भने अमितेष शाहले विशेष भूमिका निभाएका छन् । यो फिल्मलाई ट्राई सिटी पिक्चर्सले प्रस्तुत गरेको हो । कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन रहेका छन् । फिल्मको दुई टिजर र ट्रेलर युट्युबमा सार्वजनिक भइसकेको छ ।