काठमाडौं । गत मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ अहिले पाँचौं हप्तामा प्रदर्शनरत छ । दर्शकको राम्रो प्रतिक्रिया र अकुपेन्सी सहित प्रदर्शनरत सिनेमा तेस्रो सातामा प्रवेश गर्दै गर्दा दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’को चपेटामा परेको थियो ।
तेस्रो सातामा प्रवेश गर्दै गर्दा दर्शकबाट राम्रो माग भरहेको सिनेमा एक्कासी दक्षिण भारतीय सिनेमाका कारण न्युन शोमा खुम्चिन परेपछि निर्माण टिमले हल सञ्चालकसँग गुनासो समेत पोखेको थियो । अहिले दक्षिण भारतीय सिनेमा पुष्पाको व्यापारिक रफ्तार घटेसँगै तेल भिसाको शोमा बढोत्तरी हुन थालेको छ ।
पाँचौ हप्ताको मंगलबारको लागि काठमाडौं उपत्यकामा मात्रै सिनेमाले ११ शो पाएको छ । मोफसलमा पनि सिनेमाको शो बढिरहेको वितरक करण श्रेष्ठले बताएका छन् । सिनेमाको विस्तारै शो बढ्न थालेपछि निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता ऋचा घिमिरेले पनि हल सञ्चालक र आजसम्म सिनेमा हेरेर साथ दिनुहुने सम्पुर्ण दर्शकलाई धन्यवाद ज्ञापन गर्दै खुशी साटेका छन् ।
शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।
@ thecinematimes.com