काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएसँगै छायांकनको काम सुरु भएको छ । काठमाडौंको बूढानीलकण्ठमा चलचित्रको शुभमुहूर्त गरिएको थियो ।
शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थिए । अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका छन् । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
निर्माण टिमका अनुसार चलचित्र अब काभ्रेपलान्चोकको पनौतीबाट छायांकन सुरु हुनेछ । त्यसपछि पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ ।
अभिनेत्री मिरुनाले यसमा आफ्नो क्यारेक्टर निक्कै विशेष रहेको बताएकी छन् । अभिनेता मैनालीले ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू फिल्ममा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए । असोसियट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ नेपालीको साझा कथा भएको बताए । ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइ, आमा छोराका बारेमा,’ उनले भने ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत रहेका छन् ।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुझढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।
थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यनेजर रहेका छन् ।
चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।