झापा । ‘ऊनको स्वीटर’को टिजरको सुरुवातले नै एउटा कालखण्डलाई समेटेको छ । साथीको सम्झनामा भर्ने गरिएको ‘अटो’को सिन, शब्दहरुले आकर्षित गर्छ । ‘म पो अलमल अलमलमा परेँ हौ, शब्दहरु बग्दै बग्दै जाँदा तमोर नदी बन्लान्, अग्लिँदै अग्लिँदै जाँदा फक्ताङलुङ बन्ला…’ जस्ता शब्दले दर्शकको प्रशंसा बटुलिरहेको छ ।
पूर्वेली भाषा शब्दसँग दर्शकको भावनाको जोड्न टिजर सफल छ । केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली चलचित्रमा मौलिक कथावस्तु रहेको बुझ्न गर्न सकिन्छ । आर्ट मान्डुको प्रस्तुति र सुजन चापागाईंको संगीतको मिठो आभाष टिजरले दिएको छ ।
चलचित्रले पाँचथरको जातीय विविधताको कथा बोल्ने टिजरमा देखिन्छ । चलचित्रमा निर्देशन तथा लेखन नवीन चौहानको रहेको छ । चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहनेछ ।
वैशाख २६ गते रिलिज डेट तोकिएको चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, लगायत धेरै कलाकारलाई चलचित्रमा देख्न सकिनेछ ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रमा सुरज कटुवालको सह लेखन रहेको छ ।