बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ’पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत रहनु भएकी ओलीले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार नेपाल पत्रकार महासंघ झापालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्ष ओलीले पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने र विनिषा शर्मा, सचिव प्रदीप परियारलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक अभियानका काममा जोडिनु उपयुक्त हुने ठानेर यसपटक सञ्चारकर्मीको हितमा स्थापना भएको उपचार कोषलाई सहयोग गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
यसअघि आफूले सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र व्हील चेयर समेत वितरण गरेको बताउँदै ओलीले आगामी दिनमा थप रचनात्मक काम गर्दै जाने बताउनु भयो ।
महासंघका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकार सहारा उपचार कोषमा अहिलेसम्म एक करोड ११ लाख रुपैयाँ भन्दाबढी रकम जम्मा भइसकेको छ ।