झापा । चैत्र २९ गते शुक्रबारबाट नेपाली नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने एक्सन जनराका दुई सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।
देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले पिताम्बरलाई काठमाडौं उपत्यकामा २७ र मोफसलमा इटहरी बाहेकको स्क्रिनमा २५ शोसहित ५२ शोज दिएको छ । यता, ‘कर्मा’लाई भने क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १९ र मोफसलमा इटहरी बाहेकको स्क्रिनमा १८ शोसहित ३७ शो दिएको छ । जसबाट पनि थाहा हुन्छ कि हलले यी दुई सिनेमाबाट ठुलो अपेक्षा राखेका छन् । यी बाहेक बलिउड सिनेमा ‘जाट’ र गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’ले पनि केही शो आफ्नो भागमा पारेका छन् ।
कृषा चौलागाई निर्देशित पिताम्बरलाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा १६ शो, वान सिनेमाजले १२ शो, बिग मूभिजले ६ शो, एफक्युब सिनेमाजले ७ शो, बिएसआर मूभिजले ४ शो गरी देशभरका हलले करिब १५० शो उपलब्ध गराएका छन् ।
सौरभ चौधरी निर्देशित सिनेमा ‘कर्मा’लाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा ११ शो, वान सिनेमाजले ७ शो, बिग मूभिजले ४ शो, एफक्युब सिनेमाजले ४ शो, बिएसआर मूभिजले ३ शो गरी देशभरका हलले करिब १४ शो उपलब्ध गराएका छन् ।
यो सिनेमाबाट अभिनेता विपिन कार्की एक्सन अवतारमा प्रस्तुत भएकाले पनि ‘कर्मा’को प्रतीक्षामा दर्शक रहेको बुझिन्छ । सिनेमाका यसअघि सार्वजनिक प्रसार सामाग्रीले पनि दर्शकको मन जितिरहेका छन् । बसन्त लम्सालको लागानी रहेको सिनेमामा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको पिताम्बरमा विशाल चौलागाई निर्माता तथा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह-निर्माता, सुमन गौतम कार्यकारी निर्मातामा छन् ।
सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ ।