125
- दिपेन्द्र लामा
चलचित्र एउटा पपुलर मिडिया हो । अरु मिडियाजस्तै यो पनि लोकतान्त्रिक हुनुपर्छ । यसमा पुरानाले मात्र होइन नयाँ अनुहारले पनि स्पेस पाउनुपर्छ । नयाँ विचार पनि उम्रिन मिल्नेसम्मको मलिलो हुनुपर्छ यसको माटो । माथिल्लो वर्गमात्र होइन हरेक वर्ग र तप्कालाई प्रतिनिधित्व गर्ने आवाज मुखरित हुनुपर्छ । यसकारण ‘वसन्त’ले चलचित्र विधालाई लोकतान्त्रिक बनाउन एउटा इँट्टा थप्ने काम गरेको छ ।
प्रकाश सपूतले ओलीको प्रशंसा गर्यो, त्यसैले ‘वसन्त’लाई ‘वहिष्कार गरौं’ भन्ने ट्रेन्ड पनि देखियो । तर मेरो विचारमा ओली त बहाना मात्र हो, वहिष्कारको खास कारण चाहिँ कामी र बाहुनीको प्रेमकथा हो ।
यो साल यसअघि दुई गैरदलित चलचित्रकर्मीले क्रमशः ‘पूजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’ चलचित्र बनाए । ती चलचित्रले विरोध खेपेनन् र बक्सअफिसमा सफल पनि भए । तर, ‘वसन्त’माथिको आक्रमणले के देखाउँछ भने दलितको कथा भन्ने र देखाउने छुट दलितलाई नै छैन ।
अर्को टिठलाग्दो प्रसंग पनि छ । एउटा गीतमा जिजस र बाइबल शब्द समेटेकै कारण धेरैले प्रकाश सपूतलाई ‘क्रिस्चियनको दलाल’ भनेर खेदो पनि खनेका छन् । गीतको विरोध गर्नेहरुलाई म सोध्न चाहन्छु, बहुधार्मिक र धर्मनिरपेक्ष देशका नागरिकहरुको चरित्र यही हो ? तपाईंहरु कहिले ब्युँझिने ?
‘वसन्त’को समीक्षा स्वतन्त्र समीक्षकहरुले गरिरहेकै छन्, गर्ने नै छन् । चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ । तर हेर्दै-नहेरी निरंकुश मानसिकताले ग्रसित भई एक सर्जकको घाँटी रेट्ने काम नगरौं ।
नबिर्सौं, २०८१ सालको भव्य स्वागत गर्ने ‘बोक्सीको घर’मा प्रकाश सपूतको ठूलो योगदान थियो । ८१ को अन्त्यमा ‘वसन्त’ ल्याएका प्रकाश सपूतलाई ह्यापी इन्डिङ मिलोस् । शुभकामना !
(निर्देशक लामाकाे फेसबुक स्टाटसबाट)