काठमाडौँ । नेपाली ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को अवसर पारेर दुई हिट चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । विदेशमा रहने नेपालीलाई समेत लक्षित गरी रिलिज भएका यी दुवै चलचित्रले सामाजिक कथा बोलेका छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ चलचित्रले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । यो चलचित्र २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो र ५१ औँ दिनसम्म प्रदर्शनमा रही व्यावसायिक सफलता पाएको थियो । यस चलचित्रमा बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ ।
यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ चलचित्रले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्र २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस चलचित्रमा एकल नारीलाई हेर्ने दृष्टिकोण र सामाजिक संवेदनशीलतालाई प्रस्तुत गरिएको छ । सिनेमा घरलाई मोबाइल, स्मार्ट टिभी, ल्यापटप तथा कम्प्युटरमा पनि हेर्न सकिन्छ ।