झापा । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औँ वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला-२०८२ इलामको श्रीअन्तुमा आयोजना गर्ने भएको छ । संघको केन्द्रीय समितिको आइतबार बसेको बैठकले जेठ ६ गतेदेखि ९ गतेसम्म श्रीअन्तुमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
चार दिने यो कार्यक्रममा देशभरिबाट चलचित्र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहने संघका अध्यक्ष समीर बलामीले जानकारी दिएका छन् । कार्यक्रमअन्तर्गत बृहत् राष्ट्रिय चलचित्र पत्रकारिता कार्यशाला समेत सञ्चालन गरिनेछ । कार्यशालामा नेपाली चलचित्र पत्रकारिताको वर्तमान अवस्था, बदलिँदो परिदृश्य, सम्भावना र चुनौतीबारे गहन छलफल गरिने योजना छ ।
संघले कार्यशालालाई चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महत्वपूर्ण अवसरको रूपमा उपयोग गर्ने संस्थाका महासचिव रघुनाथ सापकोटाको भनाइ छ । चलचित्र पत्रकार संघ नेपालले वार्षिक उत्सव तथा राष्ट्रिय भेलामार्फत् संस्थागत एकता बलियो बनाउने, नयाँ पुस्ताका पत्रकारहरूलाई उत्प्रेरित गर्ने र चलचित्र पत्रकारिताको क्षेत्रमा थप सक्रियता ल्याउने लक्ष्य राखिएको उनले बताए ।
नेपालको चलचित्र पत्रकारितालाई व्यवस्थित र सुदृढ बनाउन संघले विगत दुई दशकभन्दा लामो समयदेखि विविध गतिविधि सञ्चालन गर्दै आएको छ । यसपटकको भेला विशेष गरी युवा पत्रकारहरूलाई नेतृत्व विकास र पेशागत दक्षता अभिवृद्धितर्फ केन्द्रित रहने बताइएको छ । कार्यक्रमको विस्तृत कार्यतालिका र सहभागीहरूको अन्तिम नामावली चाँडै सार्वजनिक गरिने संघले जनाएको छ ।
चलचित्र पत्रकार संघको जिल्ला र प्रदेश गरी कोशीमा पाँच वटा शाखा रहेको छ ।