काठमाडौं । नेपाली फिल्म ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने पटकथा बारत लिम्बुले तयार पारेका छन् ।
पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएकाे छन् । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ ।
पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन् ।
फिल्म आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । फिल्मको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।