काठमाडौं । आमिर खानको प्रतीक्षित बलिउड फिल्म ‘सितारे जमीन पर’ले नेपाली ग्राफिक्स डिजाइनर आनन्द महर्जनले तयार पारेको ‘हिन्दी टाइपो’ प्रयोग गरेको छ । केही दिनअघि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक भएको थियो ।
ट्रेलरमा महर्जनले तयार पारेको हिन्दी टाइपोलाई समावेश गरिएको छ । १३ वर्षदेखि नेपाली फिल्मको पोस्टर डिजाइन गर्दै आइरहेका महर्जनले अहिलेसम्म ७० हाराहारीमा हिन्दी फिल्ममा टाइपो तयार पारिसकेका छन् ।
आफूले हिन्दी र अंग्रेजी दुवै भाषामा टाइपो तयार पारे पनि हिन्दी टाइपो मात्र प्रयोग गरिएको उनको भनाइ छ ।
महर्जनले बलिउडको प्रसिद्ध पोस्टर डिजाइनर कम्पनी एच वानसँग मिलेर काम गर्दै आइरहेका छन् । ‘यसमा पनि पोर्टफोलियो उल्लेख नगर्ने सर्तमा काम भएको थियो’ महर्जनले भने ।
उनले एच-वानको लागि नेपालबाट आउटसोर्सिङ काम गर्दै आइरहेका छन् । सन् २०१२ को नेपाली फिल्म ‘छड्के’बाट महर्जनले पोस्टर र फन्ट डिजाइन गर्दै आइरहेका थिए ।
आकर्षक र मौलिक फन्टमार्फत पोस्टर डिजाइन गर्न महर्जन खास मानिन्छन् ।