लण्डन । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को बेलायत वितरण अधिकार अन्डरग्राउण्ड स्लेटले किनेको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन हुने जनाएको छ ।
टोरन्टो र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ भैसकेको दयाहाङ राई स्टारर फिल्मलाई उक्त कम्पनीले भावनात्मक गहिराइ, काव्यात्मक दृश्यभाषा र सशक्त कथावाचनसहितको बताएको छ ।
कम्पनीले वितरण गर्ने सूचीको पहिलो फिल्म पनि यो रहेको उल्लेख छ । ‘परम्परागत वितरण मोडेलहरूलाई पुनःपरिभाषित गर्न र मुख्यधाराका सिनेमामा प्रायः बेवास्ता गरिने विश्वव्यापी आवाजलाई समर्थन गर्न प्रतिबद्ध स्टार्टअपको रुपमा अ रोड टु अ भिलेज पहिलो हो’ विज्ञप्तिमा भनिएको छ ।
‘हामी नवीन सुब्बाजस्ता क्षमतावान फिल्म निर्मातासँग साझेदारी गर्न पाउँदा रोमाञ्चित छौं’ अन्डरग्राउन्ड स्लेटका सह–संस्थापक गेब्रियल वेट्जले भने, ‘उनको कामले विश्वव्यापी विषयवस्तुलाई गहिरो रूपमा स्थानीय सन्दर्भमा प्रस्तुत गर्छ । ठ्याक्कै त्यस्तै प्रकारको बोल्ड, कम प्रतिनिधित्व गरिएको कथावाचन जसलाई हामी व्यापक दर्शकमाझ ल्याउन प्रतिबद्ध छौं ।’
‘नेपाली सिनेमा अझै पनि विश्वव्यापी रूपमा कम प्रतिनिधित्व गरिएको छ, त्यसैले यो साझेदारी महत्वपूर्ण छ’ निर्देशक नवीन सुब्बाले भने, ‘अन्डरग्राउन्ड स्लेटले सीमान्तका कथा अझै मेनस्ट्रिमका लागि योग्य छन् भन्ने मेरो विश्वासलाई सेयर गरेको छ ।’
सुब्बाले अघि भने, ‘यो फिल्मले एक विशिष्ट नेपाली दृष्टिकोणमार्फत विश्वव्यापी विषयवस्तुलाई झल्काएको छ र म यसलाई सांस्कृतिक गहिराइ र रचनात्मक जोखिमलाई महत्व दिने टोलीमार्फत बेलायती दर्शकमाझ ल्याउन उत्साहित छु ।’
निर्माता आमोद राईका अनुसार उक्त कम्पनीले २ वर्षको लागि फिल्मको बेलायत अधिकार किनेको हो । यसअघि यो फिल्म हङकङ र बैंककमा समेत रिलिज भएको छ । चाँडै अस्ट्रेलियामा पनि रिलिज तयारी छ ।