काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको सिनेमा ‘जारी २’ अहिले छायांकनरत छ ।
वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको पाँचथरमा धमाधम छायांकन भइरहेको छ । पाँचथरको माछिल्लो बेल्टमा यो सिनेमाको विगत ११ दिनदेखि छायांकन भइरहेको छ ।
अब करिब २० दिनमा छायांकन सकिने निर्माण टिमले जनाएको छ । ‘जारी २’ को सम्पूर्ण छायांकन पाँचथरमा हुने निर्माणपक्षले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन भइरहेको छ ।
‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो । यो सिनेमाको फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ । सिनेमा दशैँमा प्रदर्शन घोषणा गर्दै ‘जारी २’को फर्स्टलुक सार्वजनिक गरिएको थियो ।
फर्स्टलुकमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो । यो सिनेमालाई स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’ मा २०८० सालको ब्लकबस्टर सिनेमा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहेकाे छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको ‘जारी’ ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
सिनेमामा सिनेमामा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् ।