इटहरी । चलचित्र ‘माइतीघर’का कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक भएको छ । जसमा त्रिशुल र डमरु बोकेको, जटाधारी बाबाको भेष उहाँ देखिनु भएको छ ।
म्याग्दीको दरबाङ क्षेत्रमा धमाधम छायांकन भइरहेको चलचित्र ‘माइतीघर’कै सेटबाट यसअघि ‘मुखिया’ जस्तै लुक्समा उनको तस्वीर सार्वजनिक भएको थियो । जसमा उहाँले खाटमा बसेर हँसिलो मुहारमा मोबाइल चलाउँदै गरेको देख्न सकिन्छ । खासमा उहाँको चरित्र यो चलचित्रमा के हुन्छ भनेर नयाँ लुक्सले दर्शकलाई कौतुहल बनाएको छ ।
फिल्मको छायांकन हिमाली गाउँ ताकम र धारापानीमा सकिएपछि अहिले म्याग्दीको दरबाङस्थित खोला किनारमा भइरहेको निर्माता रोहित अधिकारीले बताउनुभयो । निर्माता अधिकारीका अनुसार फिल्मको ८० प्रतिशत छायांकन सकिएको छ । फिल्मको एउटा गीत ताकममा छायांकन भइसकेको छ भने बाँकी दुई गीत कास्कीको सिक्लेस र बेगनास तालमा छायांकन हुने तय भएको छ ।
रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको ‘माइतीघर’को निर्माताका रुपमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहनु भएकाे छ । फिल्मको निर्देशन मिलन तामाङले गरिरहनु भएकाे छ । छायांकनको भूमिका सुसन प्रजापतिले निर्वाह गर्नु भएकाे छ ।
चलचित्रमा धीरज मगर, प्रकाश सपुत, उपसना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसक्नु भएकाे अधिकारीको यो चौथो प्रोजेक्ट हो । ‘माइतीघर’लाई दशैंको फूलपातीका अवसरमा देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।