Share via:
क्यूएफएक्सले ‘सुपरहिट’ मान्यता दिनुको अर्थ, यो फिल्मले चेनअन्तर्गतका देशब्यापी हलमा पहिलो साता १ करोड ५० लाख रुपैयाँ ग्रसको कमाइ गरेको छ भन्ने हो ।
चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यो फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् ।
उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड) मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।
सरकारको आधिकारिक बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्विटर’ ले १५ दिनसम्म ( तेस्रो शुक्रबारको बेलुका ५ बजेसम्म ) देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।
यसअघि क्यूएफएक्सको यस्तो थ्रेसहोल्ड पूर्णबहादुरको सारंगी, छक्कापञ्जा ५, १२ गाउँ, बोक्सीको घर, महाजात्रा, कल्की लगायतका फिल्मले प्राप्त गरेका थिए ।
‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ गिरीले भनिन् । क्यूएफएक्सले ‘महाजात्रा’ बाट सुपरहिटको ट्याग दिन थालेको हो । हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ ।
अहिले देशभर क्यूएफएक्सका १६ हल र ३८ पर्दा संचालनमा छन् । इटहरीको हल चाहिँ अहिले बन्द छ ।