काठमाडौं । बिहीबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा गरिएको छ । चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।
सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।”
यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।
‘महाभोज’ केवल चलचित्र मात्र नभई, यो एक सशक्त सामाजिक दस्ताबेज पनि रहेको प्रतिक्रिया चलचित्रले पाएको छ ।
यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदैछ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ ।
क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।
(सेलिब्रेटी नेपाल डटकमबाट सम्पादित)