बिर्तामोड । सदाबहार सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ दसैँमा रिलिज हुन लागेको चलचित्र माइतीघरमा नयाँ भर्सनमा समावेश हुँदैछ । जसको छायाँकनको काम भइरहेको निर्माण टिमले जनाएको छ ।
उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पालाई साँस्कृतिक पहिरनमा देखिने तस्वीर सार्वजनिक भएको छ । निर्माता रोहित अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनीको स्वरमा यो गीत पुन: ‘माइतीघर’ फिल्मका लागि रेकर्ड गराइएको थियो । गीत छायाँकनको लागि चार दिनको सेड्युल तय गरिएको उनले बताए ।
फिल्मका प्रमुख दुई अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा यो गीतमा फिचर्ड हुनेछन् । बागलुङको कालिका मन्दिरमा छायाँकन सुरु भएको यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन् । सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ ।
चलचित्र माइतीघरमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ । मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘माइतीघर’मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माता रहेका छन् ।