बिर्तामोड । प्रदर्शनको १०१ औँ दिन मनाएको अवसरमा चलचित्र ‘लाज शरणम्’को निर्माण टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बाल कल्याण आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ ।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा चलचित्रका निर्माता नवीन श्रेष्ठले ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतलहरू विद्यार्थीहरूलाई हस्तान्तरण गर्नुभयो । निर्माता श्रेष्ठले यस अवसरका लागि आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक काममा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको थियो । काठमाडौंका रञ्जना सिनेप्लेक्स (न्युरोड) र बिएसआर मुभिज (गोङ्गबु) मा यस चलचित्रले १०१ दिन प्रदर्शनको सफलता हासिल गरेको छ । यो चलचित्र गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि १०१ दिन मनाउने पहिलो चलचित्र हो ।
‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस चलचित्रका सह निर्माताहरू राम नरेश शाह र सिर्जना खड्का हुन् ।