काठमाडौं । विश्वभर प्रतीक्षा गरिएको नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजन आजबाट रिलिज हुँदैछ । नेपाली समयानुसार शुक्रबार १२ बजेर ४५ मिनेटमा तेस्रो तथा अन्तिम श्रृंखला इन्टरनेटमा आउनेछ ।
अन्तिम सिजनमा ६ एपिसोड हुने जनाइएको छ । एउटा सिरिजको रनटाइम ५२ मिनेटदेखि ६२ मिनेटसम्म हुनेछ ।
खतरनाक खेलमा प्लेयर ४५६ अर्थात सियोङ गी हुन पात्रले गर्ने संघर्षको कथावस्तुमा सिरिज आधारित छ । गि-हुन र फ्रन्टम्यान अन्तिम सिजनमा आमनेसामने हुने अपेक्षा गरिएको छ ।
खेल आयोजना गर्ने संस्थाविरुद्ध गी हुनले गर्ने विद्रोह यसको केन्द्रीय कथावस्तु हो । सिरिजको शीर्ष भूमिका प्लेयर ४५६ को रोलमा अभिनेता ली जङ-जेले अभिनय गरेका छन् । तपाईंले सिरिजका अघिल्ला दुवै सिजन हेर्नुभएको छ भने, तेस्रो सिजन झनै रोचक हुनसक्छ ।
नेपाली दर्शकमाझ पनि यो सिरिज निकै लोकप्रिय छ । ‘स्क्विड गेम’का अघिल्ला दुबै सिजन नेटफ्ल्क्सि इतिहासमा सर्वाधिक हेरिएका सिरिज हुन् । तेस्रो सिजन पनि विश्वभर प्रतीक्षाको विषय बनिरहेको छ ।