काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् ।
वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ । अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो फिल्म हेर्न सक्नेछन् । जस अन्तर्रगत २ सय भन्दा बढी देशका दर्शकले यो सिनेमा हेर्न पाउने भएका छन् ।
फिल्मको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो फिल्म ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहुभाषी दर्शकको पहुँचमा पुर्याएको छ ।
निर्माण पक्षका अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली फिल्म हो । यसअघि केही नेपाली फिल्महरु अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्म मा रिलिज भएको हो ।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए ।
लामिछाने भन्छन्, ‘चित्रा’ को यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ । विश्व बजारमा नेपाली कथालाई पुर्याउने र नेपालमा पनि यस्तो स्तरको सिनेमा बन्न सक्छू भन्ने सन्देश दिनुमा फिल्म सफल भएको देखिन्छ । हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ । यो एउटा सुरुवात मात्र हो ।’
चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन् । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । चलचित्रको एसोसिएट निर्माता राज श्रेष्ठ हुन् ।
अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्मले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्वन्धको कथा समेटिएको छ। महेश पौडेलको छायांकन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।