बलिउड अभिनेता राजकुमार रावको मुख्य भूमिका रहेका ‘मालिक’को ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमामा राजकुमार फरक अवतारमा देखिएका छन् । उनले यो सिनेमामा गरेको एक्सनले दर्शकलाई सरप्राइज दिएको हो ।
सिनेमामा उनी खतरनाक तथा डरलाग्दो भूमिकामा देखिएका छन् । सिनेमाको ट्रेलरमा उनी एक्सन दृश्यमा फिट देखिरहेका छन् । एक निर्दयी डनका भूमिकामा देखिएका राजकुमारले सिनेमाको ट्रेलरभरि एक्सन दृश्यमा प्रस्तुत छन् । सिनेमाको कथा भारतको इलाहाबादको एक डनको वरिपरि घुमेको छ ।
सार्वजनिक ट्रेलर हेरेर यो भूमिका राजकुमार रावको लागि निकै चुनौतीपूर्ण रहेको बुझ्न सकिन्छ । उनले आफुलाई एक्सन अवतारको लागि पनि फिट रहेको सन्देश यो सिनेमाबाट दिएका छन् ।
सिनेमामा राजकुमारसहित अभिनेत्री मानुषी छिल्लर मुख्य भूमिकामा देखिएकी छिन । उनीहरुसँगै सौरभ शुक्ला र सौरभ सचदेवा जस्ता दिग्गज कलाकारले पनि सिनेमाको ट्रेलरमा स्थान पाएका छन् । ट्रेलरबाट अनुमान लगाउन सकिन्छ कि यो सिनेमाको कथा एक्सनले भरिएको छ । सिनेमामा शक्ति, लोभ र वफादारीको झलक देखिन्छ ।
सिनेमाको ट्रेलर रिलिज पश्चात बलिउड मिडियासँग आफ्नो भूमिका बारेमा बोल्दै राजकुमार रावले भने, ‘यो भूमिका मेरो लागि धेरै विशेष छ । पहिलो पटक मैले धेरै गहिरो र भावनात्मक भूमिका अभिनय गर्ने मौका पाएँ । एक निर्दयी डनको भूमिका निर्वाह गर्नु सजिलो थिएन, तर यो चुनौती मेरो लागि सबैभन्दा रोमाञ्चक थियो ।’
अभिनेत्री मानुषी छिल्लरले पनि यो सिनेमालाई आफ्नो मनको धेरै नजिक रहेको भन्दै पहिलो पटक यस्तो भूमिका निर्वाह गरेको बताइन् । पुलकितको निर्देशन र कुमार तौरानी र जय शेवाक्रमणीले निर्माण गरेको सिनेमा एक्सनले भरिपूर्ण ग्याङ्स्टर कथा हो । सिनेमामा प्रोसेनजीत चटर्जी पनि मुख्य भूमिकामा देखिनेछन् । यो सिनेमा आगामी जुलाई ११ बाट विश्वव्यापी सिनेमाघरमा रिलिज हुनेछ ।