Home गीत/संगीत सरगम संगीतालयमा मनाइयो गुरुपूर्णिमा

सरगम संगीतालयमा मनाइयो गुरुपूर्णिमा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । बिर्तामोडस्थित सरगम संगीतालयले विशेष कार्यक्रमका साथ गुरुपूर्णिमा मनाएको छ । बिहीबार संगीतालयको सभाहलमा आयोजित कार्यक्रममा संगीतका विद्यार्थीहरुले गुरु दीपक रायमाझी र गुरुमा कोपिला लिङदेन रायमाझीलाई विशेष सम्मान गरेका छन् ।

सरगम संगीतालय विद्यार्थी मञ्चका अध्यक्ष सौगात संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा खदा, माला पर्हियाउँदै विशेष सम्मानसहित गुरुलाई पूजा गरिएको थियो । गुरुप्रति समर्पित गीत तथा भजनबाट विद्यार्थीहरुले माहोललाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरु अश्विन भारती, प्रसुन गुरागाईं, अर्पण सिटौला, आकृति विष्ट, सन्ध्या गिरी लगायतको प्रस्तुति रहेको थियो । विद्यार्थीहरुलाई सम्बोधन गर्दै संगीत गुरु दीपक रायमाझीले अनुशासन, संस्कार र साधनाबाट मात्रै जीवन सार्थक बन्ने बताए । ‘संगीत एक-दुई महिनामै जान्ने विषय होइन’, उनले भने, ‘यो त वर्षौंसम्म अध्ययन गर्नुपर्ने साधना हो ।’ गुञ्जन दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन लिलानाथ खत्रीले गरेका थिए ।

सरगम संगीतालयका धेरै विद्यार्थीहरुले सांगीतिक उचाइ हासिल गरिसकेका छन् । जसमा द भोइस किड्स पहिलो सिजनमा जेनिश उप्रेती विजेता बनेका थिए भने सोही सिजनमा अनुजा कडरिया उपविजेता बनेकी थिइन् । त्यस्तै, नेपाल आइडल चौथो संस्करणमा नामगेल तामाङ फर्स्ट रनरअप बनेका थिए भने भोइस अफ नेपाल सिजन २ मा सरगम संगीतालयकै विद्यार्थी विकास लिम्बू फर्स्ट रनरअप भएका थिए । भोइस अफ नेपाल सिजन ६ मा प्रमेश राई सेकेन्ड रनरअप बने । चर्चित गायिका मेलिना मैनाली पनि सरगमबाटै उदाएकी हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link