झापा । चलचित्र ‘कोशेढुङ्गा’ले पहिलो कोसेली स्वरुप ‘नत्र भने जिन्दगी’ तीज गीत सार्वजनिक भएको छ ।
समीक्षा अधिकारी, खेम सेन्च्युरी र दिपिका बयाम्बु मगरको स्वरमा रहेको यो गीतको शब्द रचना नेत्र अर्यालले गरेका हुन् । कम्पोज र हुकलाइन भने खेम सेन्च्युरीकै रहेको छ ।
गीतको सुरुमा ऋचा शर्माले ‘बाटुली’ भनेर नीति शाहलाई, अनि ‘पुतली’ भनेर सुरक्षा पन्तलाई बोलाएकी छन् । के यो उनीहरुको पात्रको नाम हो अथवा गीतको राइम मात्र मिलाइएको हो, त्यो भने चलचित्र रिलिज पछि नै थाहा हुनेछ । गीतमा पतिप्रतिको प्रेम भाव झल्किएको छ । नारीका हरेक शृङ्गारसँग जोडेर पति प्रेमको अर्थ खोजिएको यो गीतमा तीजको माहोललाई सुन्दर तरिकाले देखाइएको छ ।
भदौ १२ गतेलाई रिलिज डेट तोकिएको यो फिल्मको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका हुन् । उनले निर्देशन गरेको ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक लोकप्रिय भएपछि यो चलचित्रबाट पनि निकै आशा गरिएको छ ।
चलचित्रको लेखनमा सुनिल निउरे, सुबलमणि सापकोटो साथ रहेको छ । त्यस्तै प्रेबिल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माताका रुपमा दिनेश खड्का रहेका छन् ।
यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविन खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिल कुमार, सरोज खनाल, लोकमिण सापकोटा, सिरु विष्ट लगायतको अभिनय रहेको छ । चलचित्रको वितरण सेभेनसिज इन्टरनेसन र श्री ब्याङ्कटेस इन्टरटेन्मेन्टले गर्नेछ ।