काठमाडौं । यही भदौ ६ गतेबाट प्रदर्शन हुन लागेकाे चलचित्र ‘माग्ने राजा’को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक भएको छ । गीतमा पैसाको पावर शो गरिएको छ । पैसाले मुख टाल्ने, रोनाल्डोलाई बान्नेदेखि राजाको गद्दी तान्नेसम्मका कुरा गीतमा रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् । गीतमा बाबुल गिरीको सङ्गीत, शब्द रचना र एरेञ्ज रहेको छ । उनलाई गायनमा बाल कलाकार रोनिश खड्काले साथ दिएका छन् । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।
यस चलचित्रको निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने निर्माता मुनाल घिमिरे हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा केदार घिमिरे र वर्षा राउतका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र चर्चित टिकटकर पवित्रा साकी उर्फ मिस पविको अभिनय रहेको छ । नरेन्द्र मैनालीले छायाङ्कन गरेको यस चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने यस चलचित्रमा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा तथा बाबुल गिरीको सङ्गीत रहेको छ ।