झापा । जनै पूर्णिमाको अवसर पारेर साउन २३ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार रिलिज गरिएको ट्रेलरमा घतलाग्दा संवादका लाइन र सामाजिक व्यङ्ग्यको मिश्रण रहेको छ । जसबाट समाजको गहिरो यथार्थलाई देखाउन खोजिएको छ ।
ट्रेलरको सुरुवाती दृश्यहरूले नेपाली समाजमा व्याप्त पारिवारिक किचलो, लालच, गरिबी र सरकारी उदासीनतालाई देखाउँदछ । पहाडी गाउँले परिवेशमा आधारित यी दृश्यहरूमा मानिसका दर्दनाक सङ्घर्षहरु देखाइएको छ । छाडिजानेलाई पर्खि बस्नेहरुको कथा देख्न सकिन्छ । बाबुल गिरीकाे ब्याकग्राउन्ड गीत संगीतले मन छुन्छ ।
राज बहादुर साने निर्देशित यस चलचित्रमा मुख्य भूमिकामा सौगात मल्ल र बेनिशा हमाल रहेका छन् । साथै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ । कलाकार श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
तुल्सी देवी फिल्म प्रा.लि.ले जुनतारा फिल्मसको सहकार्यमा निर्माण गरेको यस चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको ‘सिटामोल’मा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताका र गङ्गाराम श्रेष्ठ सह-निर्माता रहेका छन् ।