काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘भंगेरा भगेरी’ सार्वजनिक गरिएको छ । तीज लक्षित डान्सिङ गीतपछि निर्माण टिमले सोमबार प्रेमिल भावको यो गीत सार्वजनिक गरेको हो । गीतमा प्रेममा रहेका युवायुवतीबीचको संवादमार्फत प्रेम र भविष्यबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । प्रेमीले प्रेमिकालाई विवाहपछिको जीवन सुखद् बनाउनका लागि आम्दानीको स्रोतबारे प्रश्न गर्छन् भने, प्रेमिकाले सरकारी जागिरप्रति चासो देखाउँदै तलब कति हो भनी सोध्छिन् ।
गीतमा स्वर रिदम कँडेल र बेनिशा पौडेलको छ भने संगीत रिदम कँडेलले दिनुभएको छ । शब्द रचना विदुर तिमल्सिना ‘देवदूत’को हो । गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता मञ्जिल कुमारको नृत्य देख्न सकिन्छ । यसअघि सार्वजनिक भएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत टिकटकमा लोकप्रिय बनेको थियो ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुंगा’ आगामी भदौ १२ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरेर चर्चा कमाएका पौडेलकै निर्देशन भएकाले यो चलचित्रलाई प्रतीक्षित सिनेमा मानिएको छ ।
‘कोशेढुंगा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा ल्याइने निर्माण टिमले जनाएको छ । सेभेन सिज इन्टरनेसनलमार्फत प्याट्रिक सुवेदी र रमेश ढकालले चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछन् । नेपाली चलचित्र इतिहासमै पहिलोपटक यति धेरै देशमा एकसाथ रिलिज हुन लागेको ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइ दिने निर्माण पक्षको अपेक्षा छ ।