काठमाडौं । भदौ ६ गतेदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ ।
४ मिनेट लामो ट्रेलरमा केही हँसिमजाक र केही गम्भीर कुराहरु देखाइएको छ । ट्रेलरमा मुख्य कलाकार केदारप्रसाद घिमिरेको अनेक परिस्थिति र लुक्सलाई प्रस्तुत गरिएको छ । जसले माग्नेबाट राजा कसरी बन्ला भन्ने कौतहुलता जगाएको छ । शीर्ष भूमिकामा केदारले अभिनय गरेको यो पहिलो फिल्म हो ।
ट्रेलरमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीको अभिनय देख्न सकिन्छ । मिस पबीलाई टेलिभिजन प्रस्तोता र कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ ।
ट्रेलरमा बिना मिहेनत पैसा कमाउन नहुने कुरा गरिएको छ । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिमाथि पनि व्यंग्य गरिएको छ ।
ऋषि लामिछाने निर्देशित फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन् । जसमा मधुसुधन शर्माको निर्माण र नरेन्द्र मैनालीको छायांकन रहेको छ । यो फिल्म तीजको छेकोमा भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा छ ।