काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तु, मनोविज्ञान र चरित्र चित्रणको संक्षिप्त खुलासा गरेका छन् ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो । निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।
टिजरको केन्द्रमा ‘च्याब्रुङ’लाई राखिएको छ । ‘च्याब्रुङ नै नाच्न नआउने लिम्बु त नांगो पहाडजस्तो हुन्छ’ भन्दै टिजर सुरु भएको छ । दयाहाङ र मिरुना र उनीहरूको छोरी कतै ससुरालीतिर हिँडेको दृश्य सुरुमा देखाइएको छ ।
‘च्याब्रुङ मासियो भने त लिम्बुहरू मासिन्छन्, लिम्बुहरू त सकिन्छन् त’ न्यारेसनमा लिम्बु पहिचानको कुरा छ । समग्रमा यो टिजरले दोस्रो श्रृंखलाबारे धेरै कुरा देखाउँछ । दर्शकलाई कौतुहल तुल्याउने गरि टिजर निर्माण गरिएको छ ।
दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । लेखन तथा निर्देशन सुब्बाको छ ।रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।
निर्माता रामबाबु गुरुङका अनुसार दशैंपछि ‘कबड्डी ५’ छायांकन हुनेछ । बाँसुरी फिल्म्सका जारी र कबड्डी दुबै श्रृंखला बक्सअफिसमा निकै हिट छन् । ‘जारी २’ असोज ३ गते संविधान दिवसको दिनदेखि विश्वभर रिलिजकाे तयारीमा छ ।