बिर्तामोड । यही भदौ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कोशेढुंगा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आर्यन सिग्देल र नीति शाहको जोडीलाई राेमान्टिक मुडमा देख्न सकिन्छ । जसले फिल्ममा उनीहरूको प्रेमकथा देख्न सकिने संकेत दिन्छ ।
निर्माण टिमले भर्खरै सार्वजनिक भएको एक कवितामा एउटा सामान्य परिवारको पात्रतामा यो जोडीलाई देख्न सकिन्छ । जसमा केही इमोसनल सिनहरुलाई देखाइएको छ । नीति र आर्यन दुवैको आँखामा आँशु देख्न सकिन्छ । सरोज पौडेलको निर्देशनमा बनेको यस सिनेमाबाट दर्शकमा ठूलो अपेक्षा रहेको छ । कारण पूर्णबहादुरको सारङ्गी, जसको निर्देशन सरोज पौडेलले गरेका थिए ।
नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा बनेको ‘कोशेढुंगा’मा सुरक्षा पन्त, ऋचा शर्मा, मन्जिल कुमार, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारको पनि अभिनय रहेको छ ।
यो सिनेमा नेपालसहित विश्वका ४२ भन्दा बढी देशमा एकैपटक रिलिज हुने तयारीमा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।
लेखक तथा निर्देशक सरोज पौडेलको यस चलचित्रमा प्रविन कन्डेल र किशोर अग्रवाल निर्माता रहेका छन् भने प्रमुख सहलगानीमा नरेन्द्र अधिकारी छन् ।