बिर्तामोड । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बन्ने तयारीमा रहेको सिनेमा ‘आबाट आमा’ को अस्ट्रेलिया र न्यूजिल्याण्ड प्रदर्शन राइट्स बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशमा प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ ।
चन्द्र पन्तको कथा, पटकथा र निर्देशनमा निर्माण हुन लागेको सिनेमाको विदेशमा समेत उच्च माग बढ्न थालेको छ । उनका अनुसार सिनेमा निर्माण भइसकेपछि विदेशमा यो सिनेमाको माग अझै बढ्नेछ ।
सिनेमामा पल शाह, उषा उप्रेतीका साथमा अभिनेत्री विपना थापा, सिम्रन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहनेछ । भदौबाटै छायांकन सुरु हुने यस चलचित्रका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको छ ।
सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरिसकेको छ । यो सिनेमा आगामी फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारी रहेको छ ।