काठमाडौं । निर्देशक अर्जुन सुवेदीले हरितालिका तीजको दिन पारेर नयाँ नेपाली फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन् ।
यसअघि निर्देशक सुवेदीले ‘रङ्गेली’ तथा ‘सोल्टिनी’ शीर्षकका फिल्म निर्देशन गरिसकेका छन् । ‘सोल्टिनी’ प्रदर्शनमा आउन बाँकी नै रहेको बेला निर्देशक सुवेदीले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् ।
यो फिल्मले विधवा महिलाको जीवन तथा समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने निर्माण टिमले जनाएको छ । निर्देशक सुवेदीका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुन: प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइने छ ।
यसको लेखन कुमार भट्टराई तथा अर्जुन सुवेदीले मिलेर गरेका हुन् । यो फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । फिल्मका लागि प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहने छ भने शुभकाशा पिक्चर्स तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने छ ।
फिल्मको प्रस्तुतकर्तामा रेजिना विष्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायाङ्कन निर्देशनमा सुसन प्रजापति, सङ्गीतकारमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन र डिजिटल वितरणमा ओएसआर डिजिटल रहने छन् ।
यसअघि ‘कन्यादान’ शीर्षकमा फिल्म बनेको भए पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ । घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ । पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्विरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुन: जीवनप्रतिको चाहना दुवैलाई प्रतिविम्वित गरेको छ ।