बिर्तामोड । ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकाश बरालले चलचित्र ‘जिरो डिग्री’ निर्माणको घोषणा गरेका छन् ।
सोमबार मिनिमल पोष्टर सार्वजनिक गर्दै मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशकद्वयले तयार पारेका हुन् । पोस्टरमा डिप फ्रिज बोकेर हिँड्दै गरेको सिम्बोलिक दृश्य रहेको छ । ‘जिरो डिग्री’को कथा सडक नभएको गाउँ, विदेश पुगेका छोराछोरी र आमाबुबाको निधन हुँदा हुने समस्याले निम्त्याउने उथलपुथलमा केन्द्रित रहेको जनाइएको छ ।
चलचित्रमा ‘लाइट कमेडी’ पनि रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिने भएका छन् । पोस्टरमा स्टारकास्टको नाम उनकै मात्र राखिएको छ । तिहार पछि छायांकनको सेडुल राखिएको यो चलचित्रका कार्यकारी निर्माता मोती कार्की रहेका छन् ।